द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको सिनेमा ‘कार्की साइँला’को प्रदर्शन मिति हेरफेर भएको छ । आगामी साउन १ गतेबाट प्रदर्शन हुने भनिएको यो सिनेमा अब दुई महिना पछाडि सरेको छ । बुधबार निर्माताले सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । यो मितिमा अर्को सिनेमा ‘झिँगेदाउ २’ पनि रिलिज हुँदैछ ।
सार्वजनिक पोस्टरमा जितु नेपाल र प्रियना आचार्य देखिएका छन् । दुवैलाई निराश मुद्रामा देख्न सकिन्छ । प्रियना जितुको पिठ्युँमा टाउको राखेर कतै हेरिरहेकी छन् । छेउमा भारीसहितको डोको देखिन्छ । यसले दुईवटा कुरा संकेत गर्छ- पहिलो, जितु र प्रियना श्रीमान्-श्रीमती हुन्, र दोस्रो, उनीहरू भरिया अर्थात् पारिश्रमिक लिएर अन्य मानिसको भारी बोक्ने मानिस हुन् ।
राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमामा जितु र प्रियनासहित सुशील पोखरेल, विरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ । बालकुमार राई निर्माता रहेको सिनेमामा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्तामा छन् ।
नेपालको पूर्वी जिल्ला धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरालगायतका स्थानमा छायांकन गरिएको सिनेमामा सविन अधिकारी र शंकर धितालको लेखन, डम्बर राईको छायांकन, सन्देश शाहको सम्पादन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बूको संगीत तथा कमल राईको नृत्य निर्देशन रहेको छ । सिनेमाको कार्यकारी निर्मातामा अनन्त राई छन् ।



प्रतिक्रिया