द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)को प्रदर्शन मिति घोषणा गरिएको छ । विश्व प्रतिष्ठित कान्स सिनेमा महोत्सवमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फको ‘जुरी प्राइज’ जितेको सिनेमाको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माताले आगामी भदौ १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक विदा परेको छ ।
सन् २०२७ को मार्च १४ मा हुने विश्व प्रतिष्ठित ‘द एकेडेमी अफ मोसन पिक्चर अवार्ड’ (ओस्कार)मा पठाउने उद्देश्यसहित सिनेमालाई भदौमा रिलिज गर्न लागिएको जनाइएको छ । हरेक वर्ष सेप्टेम्बरमा नेपालस्थित ओस्कारको छनोट कमिटीले सिनेमाको आवेदन माग गर्ने गरेको छ । ओस्कारमा पठाउन कम्तीमा सात दिन सिनेमा हलमा प्रदर्शन भएको हुनुपर्ने प्रावधान छ ।
‘एलिफेन्ट्स इन द फग’ कान्स फेस्टिभलमामा ‘जुरी प्राइज’ जित्ने पहिलो नेपाली सिनेमा हो । यसलाई नेपाली सिनेमाको महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ । यो पुरस्कार प्राप्त गरेसँगै चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले सिनेमाका निर्मातालाई साढे २ लाख नगदसहित सम्मान गरिसकेको छ भने गत साता काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ ।
कान्समा सिनेमाको प्रिमियर भएपछि विश्वका चर्चित सिनेमाकर्मीहरूले प्रशंसा गरेका थिए । बलिउडका प्रसिद्ध निर्देशक तथा कलाकार अनुराग कश्यपले लेटरबक्सडीमा सिनेमाबारे लेख्दै भनेका थिए, ‘कान्समा अहिलेसम्म मैले देखेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य यही हो । ‘एलिफेन्ट्स इन द फग’ मार्फत नेपाली सिनेमाले ठूलो फड्को मारेको छ ।’
अविनास विक्रम शाहको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाले जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको मर्मस्पर्शी कथा भनेको छ । यसमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतका कलाकारहको अभिनय रहेको छ ।
अण्डरग्राउण्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता छन् भने जयन्ती कृएसन्सको तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ निर्माताको रूपमा जोडिएका छन् । मीनबहादुर भाम, प्रवेश गुरुङ, केकी अधिकारी, प्रतीक सुवेदी लगायतका सिनेमाकर्मीले समेत निर्माणमा साथ दिएका छन् ।



प्रतिक्रिया