द सिनेमा टाइम्स, काठमाडौं । कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’को लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तरंग’ आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले सामाजिक सञ्जाल फेसबुकमार्फत सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । यो सिनेमाको गत वर्ष नै छायांकन पूरा भइसकेको छ ।
सार्वजनिक पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बू र कृष्ण थापा प्रस्तुत छन् । पृष्ठभूमिमा कलेजको भवन देख्न सकिन्छ । यसले कलेजमा अध्ययनरत विद्यार्थीहरूको कथालाई सिनेमाले मुख्य विषयवस्तु बनाएको संकेत गर्छ । यद्यपि, कथावस्तुबारे निर्माण टिमले कुनै जानकारी गराएको छैन् ।
‘सुपर नेचुरल लभस्टोरी’ (अलौकिक प्रेमकथा) भनिएको सिनेमामा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग, प्रन्शु चौधरीलगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ । सिनेमामा निर्देशक चौधरी पनि मुख्य भूमिकामा छन् । उनले यही सिनेमाबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
देवदत क्रिएसनको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी हुन् । कार्यकारी निर्मातामा हरिनारायण चौधरी रहेका छन् । महेश पौडेलले छायांकन गरेको सिनेमामा सन्देश शाहको सम्पादन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत, मनिष निरौलाको पार्श्व संगीत (बीजीएम) तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ ।



प्रतिक्रिया