द सिनेमा टाइम्स, काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘हन्टर’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी असोज ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएको हो ।
यो सिनेमाबाट निर्देशक सिंहले निर्देशनमा डेब्यु गर्दैछन् । सिनेमाको सार्वजनिक पोस्टरले कथावस्तुबारे रोचक संकेतहरू दिएको छ । ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ । प्रकाश शाहको आँखामा देखिने तीखो आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्कने प्रतिशोधको भावले सिनेमामा यी दुई पात्रबीच टक्कर हुने संकेत गर्छ ।
पोस्टरमा केवल सामान्य झगडा नभई एक-अर्कालाई सिध्याउने खेल ‘हन्टर’ अर्थात् ‘सिकार’को लडाइँ भएको प्रस्ट्याउँछ । पोस्टरको तल्लो भागमा बिल्कुलै फरक दृश्य देखिन्छ । जहाँ अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई शान्त र रोमान्टिक मुडमा देखाइएको छ । यसले सिनेमामा एक्सनसँगै गहिरो प्रेम कथा पनि बुनिएको बुझिन्छ ।
सिनेमाका लेखक तथा निर्देशक सिंहका अनुसार ‘हन्टर’को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो । ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको सिनेमाका सह-निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल तथा कार्यकारी निर्माता रोयल भीमसेन (भीमसेन शाही) हुन् ।
सिनेमामा अरुण, प्रकाश र सुप्रज्ञासहित गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल, लालबहादुर थापागायतको अभिनय रहेको छ । सिनेमाको निर्माणमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य गरेको छ ।
निर्देशक सिंहकै सम्पादन रहेको सिनेमामा कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी, बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत छ । यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।



प्रतिक्रिया