द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘पार्वती’को पहिलो गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ । रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको रत्यौली भाकाको गीतमा हर्क साउदको शब्द रचना तथा दीपक शर्माको संगीत छ । नरेन्द्र वियोगीले यो गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतको भिडियोमा नीता ढुंगाना र अञ्जली अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । दीपाश्री निरौला ‘लुठो’ बनेर देखिएकी छन् । सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी, क्रिमसन श्रेष्ठलगायतका कलाकारहरू पनि भिडियोमा देखिएका छन् । गीतका कोरियोग्राफी रामजी लामिछाने हुन् ।
जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शन हुन लागेको सिनेमालाई हरिहर अधिकारीले निर्माण गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा शंकर पाण्डे छन् । उनी सिनेमाका प्रोडक्सन म्यानेजर पनि हुन् । सिनेमामा नीता स्वयंको कथा छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । सिनेमाले अटिजम (स्नायु विकाससम्बन्धी समस्या) भएकी युवतीको संघर्षको कथा पेस गरेको छ ।
नीता फिल्म्सको प्रस्तुति रहेको सिनेमामा सुदीप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको पार्श्व संगीत, रामजी लामिछानेको नृत्य निर्देशन तथा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत समावेश छ ।


प्रतिक्रिया