द सिनेमा टाइम्स, काठमाडौं । सिनेमाको नामदेखि प्रदर्शन मितिसम्मका निर्णयलाई कमजोरी मान्दै अभिनेता जितु नेपालले आफ्नै लगानीमा फेरि सिनेमा बनाउने सम्भावना न्यून रहेको संकेत दिएका छन्।
हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले सिनेमा निर्माणदेखि प्रदर्शनसम्म भएका केही महत्त्वपूर्ण निर्णयहरू आफ्नो कमजोरी बनेको स्वीकार गरेका हुन्।
सिनेमा ‘आइ एम जितबहादुर’ले अपेक्षित व्यावसायिक सफलता हासिल गर्न नसकेपछि निर्माता तथा अभिनेता नेपाल पहिलो पटक खुलेर आफ्ना निर्णयहरूको समीक्षा गरेका हुन्।
अभिनेता जितुका अनुसार सबैभन्दा पहिलो त्रुटि सिनेमाको शीर्षक चयनमै भएको उनले स्वीकारेका छन् । ‘आइ एम जितबहादुर’ नामका कारण धेरै दर्शकले यो उनको व्यक्तिगत जीवनकथामा आधारित सिनेमा हो भन्ने बुझाइ बनाएको उनको भनाइ छ। उनका अनुसार फरक शीर्षक रोजिएको भए दर्शकको धारणा पनि फरक हुन सक्थ्यो। उनले भनेका छन्, ‘अहिल्यै आइ एम जीतबहादुर भनेर सिनेमा बनाइहाल्न नपर्ने थियो। मेरो बायोपिक किन हेर्ने ? धेरै मान्छेलाई लाग्यो मेरो बायोपिक हो। मेरै नामबाट राख्दा त्यो एक गलत भयो।’
अर्को गल्ति निर्देशकप्रति अत्यधिक विश्वास गरेको स्वीकार्दै उनले आफूले धेरै निर्णय स्वतन्त्र रूपमा विश्लेषण नगरी स्वीकार गरेको बताए। ‘निर्देशकप्रति मैले धेरै नै भरोसा गरे। सिनेमा बनाइदिनेमात्र काम दिनुपर्ने थियो हुन त उहाँले पनि मलाई उकासेको उकासै गर्नुभयो । यो समयमा अरु सिनेमा छैन्, पारिवारिक कथामा सिनेमा बनेको छ, पिकअप लिन्छ हलमा लगाउनु हुन्छ किन नहुनु भनेर सबैले बबाल छ भनिदिए । मैले पनि राम्रै गरेछु भनेर पत्याए। थप विश्वस्त भए,’ उनले आफ्नै सिनेमाको समीक्षा गर्दै भने।
यसबाहेक आफू गीतसंगीतमार्फत दर्शकलाई आकर्षित गर्न नसकेको र विश्वकप फुटबल चलिरहेको समयमा प्रदर्शन गर्ने निर्णयलाई उनले ठूलो रणनीतिक भूलको रूपमा स्वीकार गरेका छन्। प्रदर्शनको सुरुवातमै हल बुकिङमा कठिनाइ भोग्नुपरेको अनुभवले नेपाली सिनेमा बजारको वास्तविकता नजिकबाट बुझ्ने अवसर दिएको उनले बताए।
अन्तर्वार्ताका क्रममा जितुले आफ्नो व्यक्तिगत स्वभावबारे पनि आत्मस्वीकारोक्ति गरे। ‘म हतारमा निर्णय गर्छु, अनि फुर्सदमा पछुताउँछु। यही मेरो सबैभन्दा नराम्रो बानी हो,’ उनले भने।
यही अनुभवपछि अब आफ्नै लगानीमा फेरि सिनेमा निर्माण गर्ने सम्भावना निकै कम रहेको संकेत दिँदै उनले भने, ‘फुर्सदमा पछुताउनी हतारमा निर्णय गर्ने मेरो बानी अब नसुधारे काम छैन र अर्को म राम्रो कलाकार हुन सक्दो रहेछु राम्रो निर्माता बन्न मलाई धेरै समय लाग्ने रहेछ।’
सफलताले भन्दा असफलताले धेरै पाठ सिकाउने भन्दै उनले आगामी दिनमा हरेक निर्णय सोचविचार गरेर मात्रै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जितु नेपालको निर्माण तथा अभिनय रहेको सिनेमा ‘आइ एम जीतबहादुर’ भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन् । सिनेमामा जीतबहादुरको नाट्य अभिनयदेखि सिनेमा खेल्ने सपनासम्मको संघर्षपूर्ण यात्रालाई मार्मिक ढंगमा प्रस्तुत गरिएको छ।
जितुसहित सिनेमामा वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जनलगायत कलाकारको अभिनय रहेको छ ।


प्रतिक्रिया