न्यान्सीलाई गहिरो सोचमा देखाइएको ‘अक्षरा’ पोस्टरमा के लुकाउन खोज्दैछन् निर्देशक ?

न्यान्सीलाई गहिरो सोचमा देखाइएको ‘अक्षरा’ पोस्टरमा के लुकाउन खोज्दैछन् निर्देशक ?

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हरितालिका तीजको छेको पारेर आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अक्षरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यो पोस्टरले सिनेमाकी मुख्य अभिनेत्री न्यान्सी खड्काको मनोभाव दर्शाउन खोजेको छ । गाउँको ढुङ्गे चौतारोमा बसेकी उनी गहिरो सोचमा देखिएकी छन् । यसले उनको पात्र अक्षरा कुनै गम्भीर समस्यासँग जुधिरहेको संकेत गर्छ ।

पोस्टरको पृष्ठभूमिमा भने पात बिनाका दुई रुखहरू र सूर्य अस्ताउन लागेको दृश्य देख्न सकिन्छ । यसले अक्षरा पात्रको एक्लोपन, निराशा, वियोग र अनिश्चित भविष्यलाई प्रतिबिम्बित गरेको छ । उज्यालो विस्तारै हराउँदै जाँदा अब के हुन्छ भन्ने अनिश्चितता र दुविधालाई पोस्टरले प्रतीकात्मक रूपमा व्यक्त गरेको देखिन्छ ।

न्यान्सीले ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर सिनेमाबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । उनी चाँडै अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘बाटुलो जून’मा पनि देखिँदैछिन् । सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा आमसञ्चार विषयमा अध्ययन गरेकी न्यान्सीले सन् २०२२ मा ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि जितेकी थिइन् ।

विनय राज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमामा न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जनलगायतका कलाकारको अभिनय रहेको छ । सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको सिनेमाका निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन् । सिनेमामा दिपेन बस्न्यातको छायांकन रहेको छ ।