द सिनेमा टाइम्स, काठमाडौं । शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको सिनेमा ‘लालीबजार’को निर्माण टिमले नेपाली सिनेमा उद्योगमा बढ्दो ‘टिकट किन्ने’ प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ ।
सिनेमाको ५१ दिने सफलताको अवसरमा आयोजित कार्यक्रममा निर्माता, निर्देशक र कलाकारहरूले टिकट किन्ने संस्कृतिले नेपाली सिनेमा उद्योग बिग्रँदै गएको धारणा राखेका हुन् ।
राम्रो सिनेमा बने दर्शक आफैं टिकट काटेर हल पुग्ने भएकाले टिकट किनेर दर्शक जुटाउने अभ्यासले उद्योगलाई नै नकारात्मक असर गरिरहेको उनीहरूको धारणा थियो ।
सिनेमाका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई ५१ दिनसम्म सफल प्रदर्शन हुनु कुनै पनि निर्माताका लागि सपना पूरा भएको अनुभूति भएको बताए ।
‘सिनेमा भनेको दर्शकले मन पराएनन् भने शुक्रबार र शनिबारपछि आइतबारदेखि नै ओरालो लाग्न सक्छ तर ‘लालीबजार’ले अनेक आरोह-अवरोह पार गर्दै ५१ दिनसम्मको यात्रा तय गरेको छ। यो सफलता ‘लालीबजार’को मात्र होइन, समग्र नेपाली फिल्म उद्योगकै सफलता हो,’ उनले भने ।
कार्यक्रममा निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले पछिल्लो समय सिनेमाका टिकट किनेर वितरण गर्ने प्रवृत्तिले दर्शकको सोच नै परिवर्तन गर्न थालेको बताए ।
‘हामीले धेरैलाई सिनेमा हेर्न आग्रह गर्दा उहाँहरूले टिकटै आइपुगेको सिनेमा त हेर्न जान भ्याइएको छैन तपाइहरूकोमा त कहाँ जानु भन्ने भन्ने प्रतिक्रिया समेत सुन्नुपर्यो । यसले कतै हामीले नै टिकट किनेर बजार बिगारेका त होइनौं भन्ने महसुस भएको छ,’ उनले थपे, ‘हामीले बजार बिगारेको टिकट किनेर पनि हो कि ? किनभने सित्तैमा आइरहेको छ भने टिकटमा हामी किन आफैँ हेर्न जाने भन्ने दर्शकको मनमा हुँदो रहेछ भन्ने हामीलाई लाग्यो ।’
यद्यपी ‘लालीबजार’ टिमले टिकट नकिनेर नै ५१ दिन मनाएको र करिब साढे ९ करोड ग्रस कलेक्सन गरेको बताउँदै उनले भने, ‘हामीले लालीबजारका लागि टिकट किनेका छैनौं । टिकट नकिनेर नै ५१ दिनसम्म हाम्रो ग्रस ९ करोड ४२ लाख पुगेको छ । यसबाट हामीले राम्रो सिनेमा बने दर्शक आफैं टिकट काटेर आउँछन्, राम्रो नबने टिकट बाँड्दा पनि हल खाली हुने रहेछ भन्ने महसुस ग¥यौं ।’
बानियाँले टिकट किन्ने निर्माताहरूलाई प्रचारका लागि टिकट किन्नुभन्दा राम्रो कथा, स्क्रिप्ट र सिनेमा निर्माणमा मेहनत गर्न आग्रह गरे । यसका साथै निर्माताहरूले सिनेमाबारे जानकारी गराउने काममात्र गर्नुपर्ने र हलसम्म ल्याउने निर्णय दर्शककै हुनुपर्ने उनको टिप्पणी थियो । ‘हामीले दुःख जति गर्नु छ फिल्म बनाउनमा नै गरौँ तर चलाउने बेलामा हामीले दर्शक नै सर्वेसर्वा हो भनेर जानकारी दिने काम मात्र गरौँ,’ उनले भने ।
उनको भनाइप्रति सहमति जनाउँदै निर्देशक प्रदीप भट्टराईले टिकट किन्ने प्रवृत्तिले नेपाली सिनेमा उद्योगलाई नै कमजोर बनाइरहेको बताए । ‘यदि कसैले टिकट किनिरहेका छन् भने त्यसले साँच्चिकै उद्योगलाई बिगारिरहेको छ। टिकट किन्ने होइन, राम्रो लेखकको समय किनौं, राम्रो स्क्रिप्ट किनौं, दर्शकको मन जितौं,’ उनले भने।
अभिनेत्री स्वस्तिमा खड्काले पनि सिनेमा सफल हुने वा नहुने अन्तिम निर्णय दर्शककै हातमा रहने बताइन् । ‘सिनेमा हलमा लागेको जानकारी धेरैभन्दा धेरै दर्शकमाझ पुर्याउने जिम्मेवारी कलाकारको हो । तर सिनेमा हेर्न लायक छ कि छैन भन्ने निर्णय दर्शकले नै गर्नुहुन्छ । त्यसमा सिनेमामेकरको हस्तक्षेपले काम गर्दैन,’ उनले भनिन् ।
‘लालीबजार’को ५१ दिने सफलतासँगै निर्माण टिमले नेपाली सिनेमा उद्योगमा टिकट किन्ने प्रवृत्तिभन्दा गुणस्तरीय सिनेमा निर्माणमा जोड दिनुपर्ने सन्देश दिएको छ।
यम थापाको निर्देशनमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थीलगायतको अभिनय रहेको छ । यो सिनेमामार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यू गरेका हुन् ।
षट्कोण आर्ट्सको व्यानरमा निर्माण भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा प्रदीप भट्टराई अनि निर्मातामा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ रहेका छन् ।




प्रतिक्रिया