द सिनेमा टाइम्स, काठमाडौं । गायक सुजन चापागाईं सामाजिक सञ्जालमा भाइरल भएका कथित ‘प्राइभेट च्याट’का कारण विवादमा तानिएका छन् ।
पछिल्ला केही दिनयता टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा उनी किशोरीहरूसँग अनुचित प्रकृतिका कुराकानी गरेको दाबी गरिएका स्क्रिनसट र भिडियो सार्वजनिक भएपछि उनको व्यापक आलोचना भइरहेको छ ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले चापागाईंले इन्स्टाग्रामको ‘भ्यानिस मोड’ प्रयोग गरेर अश्लील प्रकृतिका सन्देश पठाउने गरेको आरोपसमेत लगाएका छन् । भाइरल सामग्रीमा दोहोरो अर्थ लाग्ने तथा अश्लील शब्द प्रयोग भएको दाबी गरिएको छ । यद्यपि, यी दाबीहरूको पुष्टि भने भइसकेको छैन् ।
विवाद चर्किएपछि हाल सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलियामा रहेका गायक चापागाईंले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा उनले विगतमा आफू निकट रहेका साथीहरूसँग सन्देश आदानप्रदान गरेको स्वीकार गर्दै त्यसबाट उत्पन्न परिस्थितिप्रति माफी मागेका छन् ।
‘विगतमा मसँग निकट सम्बन्धमा रहेका अनि मैले नजिक ठानेका साथीहरूसँग म्यासेज आदानप्रदान गरेको कुरा सत्य हो । जसबाट उत्पन्न भएको दुःखद परिस्थितिका निम्ति म अन्तरहृदयदेखि नै माफी माग्न चाहन्छु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।
यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक भएका सबै सामग्रीबारे भने आफू अनभिज्ञ रहेको उनको दाबी छ । आफ्नो सामाजिक सञ्जाल आफू मात्र नभई सामाजिक सञ्जाल व्यवस्थापकहरूले पनि सञ्चालन गर्ने गरेको उल्लेख गर्दै त्यसक्रममा दुरुपयोग भएको हुन सक्ने उनको प्रारम्भिक अनुमान छ । साथै, आफ्नो नाममा धेरै नक्कली (फेक) अकाउन्टहरू सक्रिय रहेको पनि उनले बताएका छन् ।
चापागाईंले घटनालाई ‘अनैतिक एवं अनुत्तरदायिक हर्कत’को संज्ञा दिँदै आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जानकारी दिएका छन् । अस्ट्रेलियाको सांगीतिक यात्रा सकिएलगत्तै नेपाल फर्किएर कानुनी उपचारको प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।
साथै, उनले दर्शक, श्रोता, परिवार, आफन्त र शुभेच्छुकप्रति आगामी दिनमा थप जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो त्यस्तो बदनियत नभएको दाबी गरेका छन् ।
‘मेरो बदनियत नहुँदा नहुँदै यहाँहरूले बेहोर्नुपरेको समस्याका निम्ति माफी चाहन्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
चापागाईंको स्पष्टीकरण सार्वजनिक भए पनि सामाजिक सञ्जालमा उनीमाथिको बहस र आलोचना भने जारी छ । भाइरल भएका सबै सामग्रीको सत्यताबारे आधिकारिक पुष्टि वा कानुनी निष्कर्ष भने आइसकेको छैन् ।



प्रतिक्रिया