द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक रामराजा दाहाल करिब १२ वर्षपछि सिनेमा निर्देशनमा फर्किने भएका छन् । हाल ‘अस्कर इन्टरनेशनल कलेज अफ सिनेमा स्टडिज’का प्रिन्सिपल रहेका दाहालले यसअघि ‘वशमा छैन मेरो मन’, ‘कसम हजुरको’, ‘गुरु दक्षिणा’ र ‘नेपथ्य’ जस्ता सिनेमाहरूको निर्देशन गरिसकेका छन् । लामो समयको प्राज्ञिक अनुभवपछि उनी पुनः पर्दामा जादु छर्न तयार देखिएका छन् ।
‘बुलबुल’ र ‘भूठान’का निर्माता अविरल थापाको नयाँ सिनेमाबाट उनले निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । उनले पछिल्लो पटक सन् २०१५ मा ‘हे युवा’ नामक सिनेमा निर्माण गरेका थिए । दशैंलगत्तै छायांकन सुरु हुने सिनेमाका लागि यतिबेला निर्माण पक्षले अभिनेत्रीको खोजी गरिरहेको छ । हालै निर्माता थापाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कास्टिङ कल आह्वान गरेका छन् । इच्छुकले पोस्टमा राखिएको क्यूआर स्यान गरेर आवेदन दिन सक्नेछन् । अभिनेत्री बन्न उमेर भने २२ देखि २७ वर्षभित्रको हुनुपर्ने जनाइएको छ ।
निर्माता थापाले सिनेमामा छनोट हुने अभिनेत्रीमा दमदार अभिनय क्षमता हुनपर्ने र हेर्दैमा ‘स्टार भाइव्स’ आउने लुक्स हुनपर्ने बताएका छन् । उनी आत्मविश्वासका साथ भन्छन्, ‘यसमा जो छानिन्छ, ऊ भविष्यमा नेपाली सिनेमाको सुपरस्टार अभिनेत्री बन्नेछिन् । यो हाम्रो विश्वास हो ।’ उनका अनुसार अभिनेत्री बन्न इच्छुकले असार मसान्तसम्म फर्म भरिसक्नपर्नेछ ।
सिनेमा प्रेमकथामा आधारित हुने पनि उनले स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘यो सिनेमामा अहिलेसम्म नेपाली सिनेमामा कहिल्यै नदेखिएको रोचक प्रेमकथा हुनेछ । यसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै विगतको सम्झनामा पुर्याएर आनन्द महसुस गराउनेछ ।’ उनका अनुसार अभिनेत्री छनोट भएसँगै सिनेमाको नाम सार्वजनिक गरिनेछ ।


प्रतिक्रिया