द सिनेमा टाइम्स, काठमाडौं । माओत्से गुरुङ निर्देशित सिनेमा ‘पेन्सन पट्टा’को पोस्टर सार्वजनिक गरिएको छ । असार १५ गते दहीचिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने सिनेमाका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो ।
सार्वजनिक पोस्टरले सिनेमाको कथावस्तु, पात्रको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढंगले चित्रण गरेका छन् । पहिलो पोस्टरमा दयाहाङ राई र गौमाया गुरुङ गाउँको परिवेशमा प्रस्तुत छन् । गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले सरल ग्रामीण जीवन, आत्मीयता र मानवीय संवेदनालाई संकेत गर्छ ।
दोस्रो पोस्टरमा दुवै कलाकार हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेका देखिन्छन् । डोको बोकेकी गौमाया र भारीसहित अघि बढिरहेका दयाहाङको दृश्यले संघर्ष, प्रेम, सहयात्रा र जिम्मेवारीपूर्ण जीवनको अनुभूति गराउँछ । प्राकृतिक सौन्दर्यबीचको उक्त दृश्यले सिनेमाको भावनात्मक पक्षलाई प्रभावशाली बनाएको छ ।
तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा देखिँदा गौमाया परम्परागत गुरुङ पहिरनमा छिन् । पृष्ठभूमिमा रहेका युवा पात्रहरूको उपस्थितिले प्रेम, प्रतीक्षा, परिवार र पुस्तान्तरणको कथालाई संकेत गरेको छ । समग्रमा पोस्टरहरूले ‘पेन्सन पट्टा’ पूर्वलाहुरेको जीवनमा मात्र सीमित नभई नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यको गहिरो कथा बोकेको सिनेमा रहेको आभास गराउँछन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएकोे सिनेमामा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।
कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको सिनेमाको छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने र भिएफएक्स मनोज श्रेष्ठको छ ।
मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ निर्माता रहेको सिनेमामा डीबी गुरुङ प्रोडक्सन म्यानेजर छन् । हर्क साउद, शिव बराइली र सूरज तमुका शब्द रहेको गीतमा मनोज थापा मगर, शिव बराइली र सूरज तमुको संगीत सुन्न पाइनेछ । सिनेमाको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।




प्रतिक्रिया