द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा पछिल्लो वर्षहरूमा दर्शकलाई हलसम्म आकर्षित गर्न टिकट छुट, विशेष अफर र विभिन्न प्रचार अभियान सञ्चालन गर्ने प्रवृत्ति बढ्दो छ । यही क्रममा प्रदर्शनरत सिनेमा ‘रोल नम्बर १’ले फिल्म प्रर्दर्शनको केही दिन पछि देशभरका सिनेमा हलमा ५० प्रतिशत टिकट सहुलियतको योजना सार्वजनिक गर्यो।
‘डन्ट मिस टु चान्स द वाच’ भन्ने सूचनासहित ल्याइएको यो योजना दर्शकको संख्या बढाउने उद्देश्यले अघि सारिएको थियो । तर यसले अपेक्षित रूपमा दर्शकको उपस्थिति बढाउन नसकेको सिनेमा वृत्तमा चर्चा छ । यसर्थ अधिकांश हलमा अकुपेन्सीमा उल्लेखनीय सुधार नदेखिएपछि छुटको योजना पनि प्रभावकारी हुन नसकेको विश्लेषण गरिएको छ।
यता बक्सअफिस तथ्यांकअनुसार सिनेमा प्रदर्शनको पाँचौँ हप्तासम्म आइपुग्दा पनि उक्त रणनीतिले अपेक्षित परिणाम दिन नसकेको देखिएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकअनुसार असार १४ गतेसम्म ‘रोल नम्बर १’ले १ करोड ६८ लाख ९५ हजार ९ सय ३८ रुपैयाँ ग्रस कलेक्स गरेको छ । निर्माण पक्षले भने सिनेमा निर्माण लागत करिब साढे २ करोड रुपैयाँ रहेको बताउँदै आएको छ । यस्तो अवस्थामा चार हप्तासम्म प्रदर्शनमा रहँदा पनि सिनेमाले २ करोड रुपैयाँको व्यापार पार गर्न नसक्नुले यसको व्यावसायिक यात्राबारे प्रश्न उठाएको छ ।
सामान्यतया पाँचौँ हप्तासम्म प्रदर्शनमा रहनु आफैंमा सकारात्मक संकेत मानिन्छ । तर, दर्शकलाई आकर्षित गर्न ५० प्रतिशत टिकट सहुलियतजस्तो विशेष योजना ल्याउँदा पनि व्यापारमा उल्लेखनीय सुधार नदेखिनुले नेपाली सिनेमा बजारमा बदलिँदो प्रवृत्तितर्फ संकेत गरेको विश्लेषण हुन थालेको छ ।
यससँगै सिनेमा बजारमा विभिन्न प्रश्नहरू उठ्न थालेका छन् । के दर्शकले अब सिनेमाकर्मीले ल्याउने अफरहरू पत्याउन छोडेका हुन् ? कि सिनेमाले नै दर्शकको मन जित्न सकेन ?, कमजोरी कथामा थियो, प्रचारप्रसारमा थियो वा प्रदर्शन रणनीतिमा ?, किन दर्शक हल आउन क्रमशः कम हुँदै गएका छन् ? जस्ता प्रश्नबाट बहस सुरु हुन थालेको छ ।
अर्कोतर्फ, ‘रोल नम्बर १’को निर्माण टिम यसअघि नेपाली सिनेमा इतिहासमै सर्वाधिक सफलमध्ये एक मानिने ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ब्लकबस्टर सिनेमासँग जोडिएको टिम हो । त्यसैले यही टिमको नयाँ सिनेमाले ५० प्रतिशत टिकट सहुलियत घोषणा गर्दा पनि अपेक्षाअनुसार दर्शक हलसम्म नपुग्नुले धेरैलाई आश्चर्यमा पारेको छ । यसले दर्शक हलसम्म उल्लेखनीय रूपमा नपुग्नुको कारण के हो भन्ने थप जिज्ञासाका उत्पन्न गराएको छ । यसले सफलता निर्माण टिमको नाम मात्र पर्याप्त नहुने, प्रत्येक सिनेमाले आफ्नै सामग्री, प्रस्तुति र दर्शकको विश्वासका आधारमा सफलता तय गर्नुपर्ने सन्देश पनि दिएको छ।
कतिपयले पछिल्लो समय नेपाली सिनेमा उद्योगमा टिकट बाँड्ने प्रणालीको विषयमा भइरहेका बहसले पनि दर्शकको विश्वासमा असर पारेको हो कि भन्ने निष्कर्ष पनि निकाल्न थालेका छन् । सिनेमा क्षेत्रका जानकारहरू भने टिकटको मूल्य घटाउनु मात्रै सफलताको आधार नहुने बताउँछन् । उनीहरूका अनुसार दर्शकलाई हलसम्म तान्ने मुख्य आधार सिनेमाको कथा, प्रस्तुति, सकारात्मक ‘वर्ड अफ माउथ’, प्रचारप्रसार र समग्र मनोरञ्जनात्मक अनुभव नै हो । यिनै पक्ष बलियो भए मात्र दर्शकले टिकटको मूल्यभन्दा सिनेमालाई प्राथमिकता दिने उनीहरूको भनाइ छ ।
यद्यपि, ‘रोल नम्बर १’को प्रदर्शन अझै जारी रहेकाले आगामी दिनमा दर्शकको प्रतिक्रिया र व्यापारमा सुधार आउने सम्भावना भने खुला नै छ । तर, पाँचौं हप्तासम्म ५० प्रतिशत टिकट सहुलियत दिँदासमेत अपेक्षित व्यापार गर्न नसक्दा नेपाली सिनेमा उद्योगलाई अब दर्शकको बदलिँदो मनोविज्ञान, बजार रणनीति र विश्वास पुनः जित्ने उपायबारे गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ ।
‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको लगानी रहेको सिनेमा ‘रोल नम्बर १’ जोन योञ्जनको कथा र निर्देशनमा बनेको हो । सिनेमामा कलाकार मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारीलगायत बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठले अभिनय गरेका छन् ।
सिनेमाले छोराछोरीको चाहना र रुचि नबुझ्दा अभिभावक र सन्तानबीच आइपर्ने समस्यालाई उजागर गरेको छ । साथै किताबी ज्ञान मात्र ठूलो होइन, बालबालिकाको इच्छा र आन्तरिक क्षमतालाई पनि बुझ्न जरुरी छ भन्ने सन्देश दिएको छ । जसलाई निर्माण टिमले पात्रहरूमार्फत विद्यार्थी जीवन, अनुशासन, मेहनत, सपना, जिम्मेवारी र सफलताको यात्रालाई प्रेरणादायी ढंगले प्रस्तुत गरेको छ ।



प्रतिक्रिया