द सिनेमा टाइम्स, काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’को पहिलो गीत सार्वजनिक भएको छ । डाक्टर कृष्णहरि बरालको शब्द रचनामा मर्मस्पर्शी गीत ‘महिमा आमा’को सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर छ ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’को पहिलो गीतको शब्द निकै नै मार्मिक छ । गीतले आमाको महिमाको बयान गरेको छ । साथै, आमाहरु बृद्धाश्रममा बस्नु परेको तितो यथार्थतालाई पनि सिनेमाको यो गीतमा उठान गरिएको छ । सार्वजनिक गीतले सिनेमाको कथावस्तुको भाव बोकेको छ ।
यो गीतको भिडियोमा अतिथि कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई देख्न सकिन्छ । साथमा, सिनेमाका मुख्य कलाकारहरु आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवीलाई पनि गीतमा फिचरिङ गरिएको छ । सिनेमामा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । बिष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ ।
सिनेमाको यो गीतको छायांकनका लागि निर्माणपक्षले निकै मिहिनेत गरेको देख्न सकिन्छ । कोरियोग्राफर रामजी लामिछानेले गीतको भाव अनुसार भिडियो तयार पारेका छन् । सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमामा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन छ । सिनेमामा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट छ । निर्माणपक्षले केही दिन अगाडि पोष्टर सार्वजनिक गर्दै प्रचार प्रसारलाई तिव्रता दिएको थियो । अब, सिनेमाको गीत सार्वजनिक भएपछि माहोल झनै गर्मिने अपेक्षा गरिएको छ ।
३ वर्ष अगाडि रिलिजमा आएको सिनेमा ‘झिँगेदाउ’ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । यसको सिक्वेलको रुपमा तयार भएको ‘झिँगेदाउ २’ले पनि असोज २ गतेबाट दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ ।


प्रतिक्रिया