बलिराम चौहानको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्धित

बलिराम चौहानको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्धित

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिराम चौहानको निर्देशनमा निर्माण हुने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’मा मुख्य अभिनेता रियान गिरी अनुबन्धित भएका छन् । ‘द ब्लू लाइट’का निर्देशक चौहानले नयाँ सिनेमाका लागि यसै साता अभिनेता गिरीसँग लिखित सम्झौता गरेका हुन् ।

स्काइफल पिक्चर्सले सोमबार गायन पृष्ठभूमिका रिहान गिरीलाई सिनेमामा अनुबन्धित गरेको जानकारी दिएको हो । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा भाग लिएपछि चर्चामा आएका रिहानले सिनेमा ‘होस्टेल ३’बाट अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले ‘आहुति’ नामक सिनेमामा अभिनय गरे, जुन प्रदर्शन हुन बाँकी छ । उनले केही दिनअघि मात्र नयाँ सिनेमा ‘छ माया छपक्कै २’को छायांकन सकाएका छन् । उनको पाइपलाइनमा ‘तिमी मेरो म तिम्रो’ सिनेमा पनि छ ।

भोलानाथ कटुवाल निर्माता रहेको सिनेमाको कथा बलिराम चौहान र उपश्री खतिवडाले तयार पारेका छन् । सिनेमाको दशैंअघि नै छायांकन सुरु गर्ने तयारी गरिएको छ । निर्देशक चौहानका अनुसार अहिले कलाकार र प्राविधिक छनोटको काम भइरहेको छ । सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष, र स्वतन्त्रताको कथा भन्ने जनाइएको छ ।