‘कंगाल करोडपति’मा मुकन भुसालसँग रोमान्स गर्दै सलिना तामाङ

‘कंगाल करोडपति’मा मुकन भुसालसँग रोमान्स गर्दै सलिना तामाङ

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता मुकुन भुसालको मुख्य भूमिका रहने सिनेमा ‘कंगाल करोडपति’को मुख्य अभिनेत्रीका रूपमा सलिना तामाङ अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको यो सिनेमामार्फत सलिनाले नेपाली सिनेमा उद्योगमा डेब्यू गर्ने भएकी हुन् ।

निर्माण टिमका अनुसार सलिनाले यही महिना सिनेमाको निर्माण टिमसँग औपचारिक सम्झौता गरेकी हुन् । ‘कंगाल करोडपति’ मा मुकुन भुसाल र सलिना तामाङ पहिलो पटक पर्दामा जोडीका रूपमा देखिनेछन् । सिनेमामा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो डेब्यूका लागि उपयुक्त सिनेमा भएको बताएकी छन् ।

‘यस सिनेमामा एउटा पात्रको रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु । मेरो अभिनय र आउँदै गरेको यस सिनेमालाई सबैले धेरैभन्दा धेरै माया र साथ दिनुहुनेछ भन्ने आशा गरेकी छु,’ उनले सिनेमामा अनुबन्धित भएपछि प्रतिक्रिया दिँदै भनिन् ।

सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथमा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी हुन् । सचदेव रणवीर कपूर अभिनीत ब्लकबस्टर सिनेमा ‘एनिमल’ लगायत विभिन्न चर्चित सिनेमामा अभिनय गरिसकेका अभिनेता हुन् ।

‘कंगाल करोडपति’ सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुँदैछ । सिनेमाका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन् । सहनिर्मातामा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा छन् । रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन् ।

सिनेमाको कथा सुमन गजमेरले लेखेका हुन् । निर्माण टिमका अनुसार केही कलाकारको छनोट सम्पन्न भइसकेको छ भने केही नयाँ पात्रका लागि चाँडै अडिसनको घोषणा गरिने तयारी भइरहेको छ ।