द सिनेमा टाइम्स, काठमाडौं । आमाको माया, त्याग र समर्पणको कुनै मोल हुँदैन । तर पछिल्लो समय जीवनभर सन्तानका लागि सबैथोक अर्पण गर्ने आमाबुबा नै वृद्धाश्रम पुग्न बाध्य हुने यथार्थ बढ्दो चिन्ताको विषय बनेको छ ।
यही सामाजिक विडम्बनालाई भावुक र मार्मिक रूपमा उजागर गरेको छ सिनेमा ‘झिंगेदाउ २’को गीत ‘महिमा आमाको’ ले । गीतमा आमाको निस्वार्थ माया, त्याग र बदलिँदो समाजमा वृद्धाश्रमसम्म पुग्न बाध्य हुने आमाबुबाको पीडालाई प्रभावकारी ढंगमा प्रस्तुत गरिएको छ।
डा. कृष्णहरि बरालका हृदयस्पर्शी शब्द, अर्जुन पोखरेलको सुमधुर संगीत तथा प्रमोद खरेल र मनिशा सुनारको संवेदनशील स्वरले गीत सन्देशमुलक बनेको छ ।
गीतको केन्द्रमा आमाको माया, ममता, त्याग र जीवनभर सन्तानका लागि गरिने समर्पण छ । ‘धर्तीभन्दा पनि ठूलो आमाको नै काख हुन्छ’, ‘आमा एउटै हुन्छिन् तर माया उनको लाख हुन्छ’ जस्ता शब्दले आमाको स्थान सबैभन्दा माथि रहेको भाव व्यक्त गरेको छ । साथै आमालाई जीवनको पहिलो गुरु, पहिलो आश्रय र निस्वार्थ प्रेमको प्रतीकका रूपमा चित्रण गरिएको छ ।
‘यस्ता आमा पनि कठै वृद्धाश्रममा छन्’ भन्ने शब्दमार्फत वर्तमान समाजको तीतो यथार्थ उजागर गर्छ। जीवनभर सन्तानका लागि समर्पित हुने आमाबुबा वृद्धावस्थामा एक्लिन बाध्य हुने अवस्थाप्रति संवेदनशील बनेको छ ।
अन्ततः जहाँ हुन्छन् आमा-बाबा त्यही तीर्थ हुन्छ भन्ने सन्देशमार्फत गीतले मातापिताको सम्मान नै सबैभन्दा ठूलो धर्म भएको भाव व्यक्त गरेको छ । सन्तानबाट जति पीडा पाए पनि आमाको माया कहिल्यै परिवर्तन नहुने यथार्थलाई पनि सरल र प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मासहित आर्यन सिग्देल, हिउवाला गौतम, वसुन्धरा भुसाल र चैत्यदेवीको अभिनयले गीतलाई थप जीवन्त बनाएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सिनेमा आगामी असोज २ गते प्रदर्शन हुनेछ ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय छ ।
सिनेमामा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । बिष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमामा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन, विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन छ । सिनेमामा ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट छ ।


प्रतिक्रिया