द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘मन बिनाको धन २’मा कलाकारको लाइनअप बलियो बनेको छ । पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल, किरण केसी अनुबन्धित भइसकेको यो सिनेमामा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ । मंगलबार उनीसँग निर्देशक बुढाथोकीले लिखित सम्झौता गरेका हुन् ।
सिनेमामा विपिनको भूमिकाबारे निर्माण पक्षले कुनै जानकारी गराएको छैन् । तर, सिनेमाको कथा उनीमाथि नै केन्द्रित हुनेछ । सिनेमाका लागि उनले आकर्षक पारिश्रमिक बुझेको जनाइएको छ । पछिल्लो समय उनले ५० लाखभन्दा कममा सिनेमा खेलेका छैनन् । ‘मन बिनाको धन २’मा पनि उनले यही आसपास पारिश्रमिक बुझेको हुनसक्ने अनुमान छ ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा टंक स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । सिनेमाका गीतमा निर्देशक बुढाथोकी स्वयंको संगीत रहनेछ । भदौ पहिलो साताबाट छायांकन सुरु गर्न लागिएको सिनेमाका निर्मातामा विष्णु माया मैनाली रहेकी छन् । यो उनको दोस्रो निर्माण हो ।
‘मन बिनाको धन’ संगीतकार बुढाथोकीको चर्चित गीतमध्ये एक हो । करिब ७ वर्षअघि रिलिज भएको यस गीतलाई अहिलेसम्म युट्युबमा तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यो बाल गायक अशोक दर्जीको पहिलो गीत समेत हो । यही नामको सिनेमामा पनि अशोक मुख्य भूमिकामा थिए । यसको दोस्रो भागमा भने उनको अभिनयबारे कुनै जानकारी गराइएको छैन् ।


प्रतिक्रिया