‘फेस अफ नेपाल २०२६’को लागि आवेदन खुला, ‘लज्जावती’सँगै फेस अफ नेपाललाई अघि बढाउँदै मेनुका

‘फेस अफ नेपाल २०२६’को लागि आवेदन खुला, ‘लज्जावती’सँगै फेस अफ नेपाललाई अघि बढाउँदै मेनुका

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी २९ साउनदेखि प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला सिनेमाको प्रचारमा व्यस्त छिन् । यससँगै उनी ‘फेस अफ नेपाल-२०२६’को तेस्रो संस्करणलाई पनि अघि बढाइरहेकी छन् । उनी यस प्रतियोगिताकी राष्ट्रिय निर्देशक हुन् ।

मेनुकाले अभिनयसँगै ‘फेस अफ नेपाल’मार्फत नयाँ प्रतिभाको खोजी र उनीहरूको क्षमता विकासमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेकी छन् ।

एमएस प्रोडक्सनले आयोजना गर्ने ‘फेस अफ नेपाल-२०२६’को तेस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । आयोजकले बिहीबार काठमाडौँमा कार्यक्रम गर्दै प्रतियोगिताको लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालभरका १७ देखि ३० वर्ष उमेर समूहका पुरुष तथा महिला सहभागी हुन सक्नेछन् । इच्छुक सहभागीहरूले फेस अफ नेपाल (Face of Nepal) को आधिकारिक सामाजिक सञ्जाल पेज तथा प्रतियोगिताको आधिकारिक भोटिङ पार्टनर एभेन्टोज (Aventoz) मार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि एक हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ भने छनोट भएका प्रतियोगीले १५ हजार रुपैयाँ सहभागिता शुल्क तिर्नुपर्नेछ ।

आयोजकका अनुसार प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुनेछ, जहाँ आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता तथा मोडलिङ क्षमताको मूल्यांकन गरिनेछ । त्यस्तै, सहभागीहरूले फिटनेस तथा व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ तथा स्टेज प्रस्तुति प्रशिक्षण लगायत विभिन्न व्यावसायिक तालिम प्राप्त गर्नेछन् ।

पहिलो चरणको अडिसन ११ जुलाई अर्थात् यही असार २७ गते हुने तय भएको छ । त्यसपछि प्रशिक्षण, विभिन्न प्रतिस्पर्धात्मक चरण तथा अन्य कार्यक्रमका विवरण आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ तथा फेसन उद्योगमा व्यावसायिक रूपमा अघि बढ्ने अवसरसमेत पाउनेछन् ।

प्रतियोगिताकी राष्ट्रिय निर्देशक मेनुकाले ‘फेस अफ नेपाल’ नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर भएको बताइन् । उनका अनुसार यस प्रतियोगिताले आत्मविश्वास, व्यक्तित्व र प्रतिभालाई प्राथमिकता दिने भएकाले यसमा सहभागी हुन कुनै उचाइको मापदण्ड नराखिएको जानकारी दिइन् ।

उनले कार्यक्रममा नयाँ पुस्ताका प्रतिभालाई विश्व मञ्चसम्म पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएको बताइन् । साथै, मोडलिङमा भविष्य बनाउन चाहने युवायुवतीलाई निर्धक्क भएर आवेदन दिन आग्रहसमेत गरिन् ।
यस वर्षको ग्रान्ड फिनाले ३० अगस्ट २०२६ (भदौ १४) मा काठमाडौंस्थित रोयल टुलिपमा आयोजना हुनेछ । कार्यक्रममा फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

फेस अफ नेपाल-२०२६ अन्तर्राष्ट्रिय प्रतिष्ठित एसिया मोडल फेस्टिभल, दक्षिण कोरियाको नेपालको आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो । यस वर्ष पनि यसले देशभरबाट प्रतिभाशाली पुरुष तथा महिला मोडलको खोजी गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने लक्ष्य लिएको छ ।