‘जिरो डिग्री’को रिलिजबारे किन लेखे निर्देशक आकाश बरालले लामो स्टाटस ?

‘जिरो डिग्री’को रिलिजबारे किन लेखे निर्देशक आकाश बरालले लामो स्टाटस ?

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘जिरो डिग्री’का निर्देशक आकाश बरालले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सिनेमाको रिलिजबारे स्पष्टीकरण दिएका छन् ।

विभिन्न समाचार तथा सामाजिक सञ्जालमा सिनेमाको रिलिज मिति परिवर्तन हुने वा सिनेमा सर्न सक्ने भन्ने चर्चा आएपछि निर्देशक बरालले स्पष्टीकरणसहित स्टाटस लेखेका हुन् । तिहारमा सिनेमा रिलिज गर्ने आधिकारिक घोषणा एक महिनाअघि नै भइसकेको अवस्थामा उनले यस्तो स्टाटस किन लेखे ? भन्ने अहिले चर्चाको विषय बनेको छ ।

सामाजिक सञ्जालमा देखिएका केही सामग्रीमा तिहारमा कुनै सिनेमा नभएको आशय देखिएकोप्रति आपत्ति जनाउँदै उनले लेखेका छन्, ‘तिहारमा कुनै सिनेमा छैन् भन्ने आशयका कुरा देख्दा दुःख मात्र लागेन, रिस उठ्यो । किनभने ‘जिरो डिग्री’को तिहार रिलिज त एक महिनाअघि नै आधिकारिक रूपमा घोषणा भइसकेको छ ।’

उनका अनुसार सिनेमाको रिलिज डेट कुनै अनुमानको विषय होइन् । ‘सिनेमाको रिलिज डेट कुनै ‘सायद’, ‘हुन सक्छ’, ‘लाग्छ’ भन्ने विषय होइन् । त्यसका पछाडि महिनौंको योजना, सम्झौता, मार्केटिङ, वितरण, प्रदर्शकसँगको समन्वय र सयौं मानिसहरूको मेहनत जोडिएको हुन्छ,’ उनले उल्लेख गरेका छन् ।

यस्ता सामान्य तथ्यसमेत नहेरी सामग्री बनाइनु केवल गल्ती नभई गैरजिम्मेवारी भएको उनको भनाइ छ । ‘यस्तो गैरजिम्मेवारीले एउटा सिनेमालाई होइन, पूरै टिमको विश्वसनीयतालाई असर गर्छ । दर्शकलाई भ्रममा पार्छ, उद्योगलाई गलत सन्देश दिन्छ,’ उनले आफ्नो धारणा व्यक्त गरेका छन् ।

उनले थप लेखेका छन्, ‘सामाजिक सञ्जालमा पोस्ट गर्न एक मिनेट लाग्छ । तर त्यसले बनाएको भ्रम हटाउन कहिलेकाहीँ हप्तौं लाग्छ । एउटा गलत वाक्यले सयौं मानिसहरूको महिनौंको मेहनत कमजोर बनाउन सक्छ ।’ योसँगै उनले सबैलाई आधिकारिक जानकारी पुष्टि गरेर मात्र सामग्री सार्वजनिक गर्न आग्रह गरेका छन् । साथै, सिनेमा पहिलेको घोषणा अनुसार तिहारमै रिलिज हुने थप पुनः स्पष्ट पारेका छन् ।

बरालले आफ्नो स्टाटसको सुरुमै सिनेमा उद्योगमा सबैभन्दा धेरै गुमाइरहेको कुरा पैसा नभई विश्वास भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘विश्वास कसरी गुम्छ ? जब तथ्यभन्दा अनुमान ठूलो हुन थाल्छ । जब जिम्मेवारीभन्दा लापरवाही ठूलो हुन थाल्छ ।’

उनले सामाजिक सञ्जालमा बढ्दो ‘पहिले पोस्ट गर्ने, पछि तथ्य जाँच्ने’ प्रवृत्तिप्रति पनि आलोचना गरेका छन् । ‘भ्युज चाहिन्छ, रिच चाहिन्छ, चर्चा चाहिन्छ । तर त्यो चर्चाको मूल्य कसले तिर्छ ? त्यो मूल्य त मेहनत गरिरहेका मानिसहरूले तिर्छन्,’ भन्दै उनले सार्वजनिक सामग्री तथा समाचारमा जिम्मेवारी आवश्यक भएको उल्लेख गरेका छन् ।