महिलामाथि हुने घरेलु हिंसा र शोषणको कथा ‘गौँथली’ ट्रेलर सार्वजनिक

महिलामाथि हुने घरेलु हिंसा र शोषणको कथा ‘गौँथली’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमा ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको साढे ३ मिनेट लामो ट्रेलर मर्मस्पर्शी देखिन्छ । अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई केन्द्रमा राखिएको ट्रेलरमा महिलामाथि हुने घरेलु हिंसा र शोषणको कथालाई देखाइएको छ ।

सिम्रनको पात्रलाई पढ्न मन छ । तर, परिवारले सानै उमेरमा विवाह गरिदिन्छन् । त्यसपछि श्रीमान्‌को घरमा उनले भोग्नुपर्ने दुःख, पढ्नका लागि गरेको संघर्ष, सासुले दिने यातना र श्रीमान्‌को अस्वभाविक क्रियाकलापका कारण सामना गर्नुपर्ने कठिनाइलाई ट्रेलरले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

डाक्टर भोला रिजालको कथामा निर्माण भएको सिनेमामा सिम्रन र अरुणसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् । सरला रिजाल कार्यकारी निर्माताको रूपमा छिन् । सिनेमामा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा कपिल रिजाल, निश्चल कुँवर, अभिमन्यू निरवी, शिव शर्मा, निरज नेपाल र गिरिराज घिमिरेको पटकथा तथा संवाद लेखन रहेको छ ।