प्रिंयका कार्कीको ‘मास्टर्नी’ प्रदर्शन मिति हेरफेर, अब भदौ ५ गतेबाट प्रदर्शनमा आउने

प्रिंयका कार्कीको ‘मास्टर्नी’ प्रदर्शन मिति हेरफेर, अब भदौ ५ गतेबाट प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रिंयका कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘मास्टर्नी’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि भदौ १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब एक हप्ता अगाडी भदौ ५ गतेबाट नै प्रदर्शनमा आउने भएको हो ।

अगामी भदौ १२ गतेबाट प्रदर्शको तयारीमा रहेको भएपनि सो मितिमा दक्षिण भारतीय सिनेमा ‘टक्सिक’ आउने भएपछि मास्टर्नीको रिलिज एक हप्ता प्रि-पोण्ड गरिएको हो । यो मितिका अन्य सिनेमा पनि पछाडी हट्ने तयारी भैरहेका बेला नीता ढुंगानाको अभिनय तथा निर्देशन रहेको सिनेमा पार्वती भने घोषित मितिमै रिलिज हुनेछ ।

सिनेमाको शुक्रबार सार्वजनिक पोस्टरमा प्रियंका साडी लगाएर बाथटबमा सुतेको अवस्थामा देखिएकी छन् । उनको आँखा भने खुला छ । पोस्टरमा लेखिएको ‘सबैभन्दा शान्त देखिने व्यक्तिले नै खतरनाक खेल खेल्छ’ भन्ने वाक्यले प्रियंकाको पात्र हेर्दा सामान्य देखिए पनि चलाख रहेको संकेत गर्छ । सिनेमा मर्डर मिस्ट्रीको कथामा आधारित हुनसक्ने पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

शुभेन्द्र घोषको निर्देशनमा निर्माण भएको सिनेमामा प्रियंकासहित आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेलगायतका कलाकारको अभिनय रहेको छ । आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले सिनेमाको निर्माण गरेका हुन् ।

सिनेमाको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्मातामा सिमोस सुनुवार रहेका छन् । प्रियंका स्वयंको कथा रहेको सिनेमाको पटकथा शान बस्नेतले तयार पारेका हुन् । संवाद भने प्रियंका र शानको हो । युवराज इन्दोरियाको छायांकन रहेको सिनेमालाई राजा सिंह सिदुले सम्पादन गरेका छन् । यो सिनेमा नेपाली र भारतीय ८ भाषामा रिलिज हुने जनाइएको छ ।