दशैंमा रिलिज होला त अशोक शर्माको ‘डबल ट्रिपल’ ? ठूला सिनेमाबीच बक्सअफिस भिडन्तको तयारी !

दशैंमा रिलिज होला त अशोक शर्माको ‘डबल ट्रिपल’ ? ठूला सिनेमाबीच बक्सअफिस भिडन्तको तयारी !

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक अशोक शर्माको निर्देशनमा निर्माण भएको सिनेमा ‘डबल ट्रिपल’ पनि आगामी असोज ३० गते बडादशैंको फुलपातीमा रिलिज हुने चर्चा सिनेमावृत्तमा चलिरहेको छ । तर निर्माण पक्षले अहिलेसम्म औपचारिक रूपमा प्रदर्शन मिति घोषणा गरेका छैनन् । यद्यपि, सिनेमासँग निकट स्रोतले भने दशैँ रिलिजलाई केन्द्रमा राखेर सम्पूर्ण तयारी भइरहेको जनाएको छ ।

स्रोतका अनुसार निर्माण टिम अहिले सिनेमाको प्रचारको तयारी र प्रदर्शन तालिकालाई अन्तिम रूप दिन व्यस्त छ । यदि सबै तयारीअनुसार अघि बढ्यो भने भदौ महिनाभित्रै फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने टिमको तयारी रहेको बुझिएको छ । त्यसपछि टिजर, गीत तथा अन्य प्रचार सामग्री सार्वजनिक गर्दै प्रचार अभियानलाई तीव्र बनाइने स्रोतको दाबी छ ।

‘डबल ट्रिपल’मा दयाहाङ राई, मिरुना मगर, खगेन्द्र लामिछाने, केकी अधिकारी, विल्सन विक्रम राई, बुद्धि तामाङलगायत चर्चित कलाकारको अभिनय रहेको छ । कलाकारहरूको बलियो लाइनअपका कारण पनि सिनेमाप्रति सुरुदेखि नै दर्शक र वितरकको चासो देखिएको छ ।

यदि ‘डबल ट्रिपल’ले फुलपातीलाई नै प्रदर्शन मिति बनायो भने यस वर्षको दशैँ बक्सअफिसमा निकै ठूलो भिडन्त हुने देखिन्छ । अहिलेसम्म दीपकराज गिरीको ‘छ माया छपक्कै २’, विराज भट्टको ‘१२ गाउँ २’, चन्द्र पन्तको ‘आबाट आमा २’, भुवन केसीको ‘बाटुलो जुन’ र ‘महाराजधिराज’ले दशैंको फुलपातीमा रिलिजको घोषणा गरिसकेका छन् ।

यति धेरै सिनेमाले एउटै मितिमा रिलिज हुने देखिएपछि सिनेमा बजारमा अहिलेबाटै अनेक अड्कलबाजी सुरु भएका छन् । सबै सिनेमा साँच्चै दशैँमै आउने हुन् कि अन्तिम समयमा कसैले प्रदर्शन मिति सार्ने हो भन्ने चासो पनि उत्तिकै छ । विगतमा पनि ठूला सिनेमाहरूबीच भिडन्तको चर्चा भए पनि अन्तिम समयमा केही निर्माता पछि हटेका उदाहरण थुप्रै छन् ।

सिनेमा क्षेत्रका जानकारहरूका अनुसार दशैँ नेपाली सिनेमा उद्योगको सबैभन्दा आकर्षक व्यापारिक सिजन मानिन्छ । त्यसैले अधिकांश निर्माता यो अवसर गुमाउन चाहँदैनन् तर एउटै समयमा धेरै सिनेमा प्रदर्शन हुँदा हलको शो बाँडफाँट, प्रचार प्रतिस्पर्धा र दर्शक तान्ने चुनौती पनि बढ्ने गर्छ । त्यसैले अहिले चर्चा गरिएका सबै सिनेमा अन्ततः एउटै मितिमा प्रदर्शन हुन्छन् भन्ने निश्चित भने छैन् ।

यता ‘डबल ट्रिपल’को निर्माण पक्ष भने सार्वजनिक रूपमा मौन देखिएको छ । तर निर्माण टिमसँग निकट स्रोतहरूले फुलपाती रिलिजको सम्भावना बलियो रहेको दाबी गरिरहेका छन् । अब सबैको नजर भदौतर्फ छ । यदि भदौमै फर्स्टलुक पोस्टरसँगै रिलिज मिति घोषणा गरियो भने ‘डबल ट्रिपल’ पनि यस वर्षको दशैँ बक्स अफिस भिडन्तमा औपचारिक रूपमा उत्रिनेछ ।