द सिनेमा टाइम्स, काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘रातो घेराः द रेड सर्कल’को बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । यही असार २५ गतेदेखि छायांकनमा जाने सिनेमाको पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर सहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने सिनेमाको निर्माण विश्राम फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुनेछ । अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ भने सिनेमाको प्रदर्शन मिति समेत घोषणा भइसकेको छ । यो सिनेमा आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने छ ।
निर्देशक अनिल बुढा मगरका अनुसार सिनेमा सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ । सत्य घटनामा आधारित सिनेमालाई अझ भव्य, कथात्मक रूपमा सशक्त तथा प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको निर्माता जीवन गुरुङले बताए । अनुभवी कलाकार तथा दक्ष प्राविधिक टोलीको सहभागिताले सिनेमा अझ प्रभावशाली बन्ने विश्वास व्यक्त गरिएको छ ।
सिनेमाका निर्माता जीवन गुरुङसँगै कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन् । सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । सिनेमाको संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन् । यो सिनेमाको वितरण अधिकार काठमाडौंमा काफीया फिल्म्सका गोविन्द शाही र काठमाडौं बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन् ।
सिनेमाका लेखक राजु स्याङ्तान हुन् भने छायांकन शिशिर बिसंखेले गर्नेछन् । निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरुङले सम्हाल्नेछन् । दर्शकहरूले सिनेमामा दयाहाङ राई र मिरुना मगरको जोडीबाट फेरि उत्कृष्ट अभिनय र नयाँ किसिमको सिनेम्याटिक अनुभवको अपेक्षा गर्न सक्ने निर्माण पक्षले जनाएको छ ।
सिनेमामा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन (खबपु), सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाईं, राम बाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ तथा डिबी गुरुङ लगायत कलाकारको अभिनय रहनेछ ।
कार्यक्रममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले सत्य घटनामा आधारित एउटा सुन्दर र राम्रो सिनेमामा काम गर्न लागेकोले उत्साहित भएका बताएका छन् ।



प्रतिक्रिया