द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ २६ गते हरितालिका तीजको छेको पारेर प्रदर्शनमा आउन लागेको सिनेमा ‘अक्षरा’को अहिलेसम्म एउटा पोस्टरबाहेक अन्य कुनै प्रचार सामग्री सार्वजनिक भएका छैनन् । तर, त्यही एउटा पोस्टरले विदेशमा सिनेमाको माग बढाएको छ । शुक्रबार मात्र दक्षिण कोरियामा सिनेमाको प्रदर्शन अधिकार बिक्री भएको छ ।
कोरियाका लागि यो सिनेमाको प्रदर्शन अधिकार ‘केटीएम टू सोल’ नामक कम्पनीले खरिद गरेको हो । यो सम्झौतासँगै अब कोरियामा रहेका नेपाली दर्शकले यो सिनेमा हेर्न पाउने भएका छन् । सिनेमाकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना)का अनुसार नेपालकै मितिमा दक्षिण कोरियामा सिनेमा प्रदर्शन हुनेछ ।
विजयराज पौडेलको निर्देशनमा निर्माण भएको सिनेमामा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सृष्टि खड्का लगायतका कलाकारको अभिनय छ । बाल कलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन् ।
महिलाप्रधान भनिएको सिनेमाका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । सिनेमामा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, दीपेन बस्न्यातको छायांकन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।



प्रतिक्रिया