चुनाव असर: नयाँ छैनन्, पुरानै चलाउन बाध्य !

चुनाव असर: नयाँ छैनन्, पुरानै चलाउन बाध्य !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसीरको यो जाडो महिना, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावले देश गर्माएको छ । साथमा विवाहको महिना पनि । तर, लाइमलाईटमा भने चुनावनै छ । लगनगाँठो छायाँमा परेको छ ।

विभिन्न क्षेत्रका मानिस कामकाज छोडेर चुनावमा होमिदा यसको प्रत्यक्ष मारमा सिनेमा क्षेत्र पनि परेको छ । हलमा दर्शक र अनि नयाँ सिनेमाको भिड नदेखेको १५ दिन बढी भैसक्यो । प्राय जसो हप्ता दुई देखि चार सिनेमा रिलिज हुने नेपाली हलमा अहिले कुनै फ्रेस सिनेमा छैनन् । र, यो सिनेमा र दर्शकको खडेरी मंसीर अन्तिमसम्म हुनेछ ।

पहिलो चरणको चुनाव १० गते सम्पन्न भएपनि २१ गते हुने दोस्रो चरणको चुनावले झनै देश तातेको छ । देशमा भैरहेका हिंसात्मक गतिविधिले गर्दा पनि दर्शक हलसम्म आउन सकेका छैनन् । त्यसैले फ्रेस सिनेमाले यो खडेरीमा जोखिम उठाउन नखोज्दा हल संचालक मर्कामा परेका छन् ।

करिब १ महिना जति हल त्यतिकै बन्द गरेर बस्ने अवस्था पनि छैन । पर्दामा लागिरहेका सिनेमाका दर्शक फाट्टफुट्ट मात्र छन् । राम्रा सिनेमा रिलिज नहुँदा हल संचालक पुराना केहि नाम चलेका सिनेमा पुन: रिलिज गर्न बाध्य छन् ।

केहि दिन अगाडी मात्र क्युएफएक्सले ‘फाटेको जुत्ता’ पुन: प्रदर्शन गर्यो । दुई-चार दिन टरेपनि करिब १५ दिन ‘फाटेको जुत्ता’ले होल्डओभर गर्ने स्थिति छैन । त्यसैले भोलि देखि क्युएफएक्सले दुई सोज दिएर ‘छक्का पन्जा २’ फेरी प्रदर्शनमा ल्याएको छ । त्यस्तै आगामी शुक्रबारबाट गत वर्ष प्रदर्शन भएको ‘सेतो सुर्य’ पुन: प्रदर्शन हुनेछ ।

देशका सिंगल थ्रियटरमा पनि पुराना सिनेमा प्रदर्शन भरहेका छन् । भक्तपुरको कमलविनायकमा ‘किङ’ सिनेमाको पोस्टरमा टाइटलको तल रिटर्न्स लेखेर पुन प्रदर्शनमा ल्याइएको छ । त्यस्तै यो महिनाको अन्तिम साता दुई हलिउड सिनेमा ‘फर्डीनन्ड’ र ‘स्टार वार्स’ले मल्टीप्लेक्सका पर्दा धान्नेछन् ।