अस्कर कलेजद्वारा ५ विद्यार्थीलाई छात्रवृत्ति

अस्कर कलेजद्वारा ५ विद्यार्थीलाई छात्रवृत्ति

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा सम्बन्धी पढाई हुने नेपालको एकमात्र कलेज ‘अस्कर इन्टरनेसनल फिल्म कलेज’ले विधार्थीलाई छात्रवृत्तीको घोषणा गरेको छ । सिंगापुर इन्फिनिटी स्टुडियोले सिनेमा अध्ययन गर्ने अवसर प्रदान गरेको छ ।

उक्त स्टुडियोले बुधबार कलेज परिसरमै आयोजना गरेको कार्यक्रममा प्रतिनिधी स्यु मोले छात्रवृत्ती पाउने विधार्थीको नाम घोषणा गरेकी थिइन । यो बर्ष अस्कर कलेजबाट निपिल शर्मा, दिवस अम्गाँइ, बविन दुलाल, आशिष लिम्बु र सन्दीप श्रेष्ठले जनही ३५ हजार रुपैंया छात्रवृत्ति प्राप्त गर्नेछन ।

अस्कर कलेज र इन्फिनिटी स्टुडियोले अघिल्लो वर्षबाट विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता गरेका थिए । अघिल्लो साल कलेजका विद्यार्थीहरू आमेश भण्डारी, रिजन गजुरेल, मार्टिन भण्डारी, अंकित पौडेल र इशान भुसालले सो छात्रवृत्ति पाएका थिए । कार्यक्रममा बोल्दै स्यु मोले छात्रवृत्तिको रकम थोरै भए पनि यसले विद्यार्थीमा उर्जाको काम गर्ने बताइन् । ‘हामीलाई थाहा छ, हामीले दिएको पैसा ठूलो होइन तर, यसले विद्यार्थीलाई उत्प्रेरित गरोस् भन्ने हाम्रो चाहना हो । हामी आउँदो दिनमा पनि अस्कर कलेजसँग सहकार्य गर्न ईच्छुक छौं,’ मोले भनिन् ।

कलेजका प्रिन्सिपल विनोद पौडेलले सम्पूर्ण विद्यार्थीबाट ५ जनालाई मात्र छात्रवृत्ति दिनु पर्ने बाध्यताका कारण पाँच जनाको नाम छनोट गरे पनि बाँकीले आफूलाई अयोग्य नसम्झन आग्रह गरे । ‘सबै विद्यार्थीमा उत्तिकै सम्भावना छ । हामीले छानेका ५ जना सक्षम र बाँकी अक्षम भन्ने होइन । योभन्दा ठूला पुरस्कारले तपाईंलाई पर्खिरहेका छन्’ पौडेलले भने । अस्कर कलेज र इन्फिनिटीले अन्य प्राविधिक विषयमा पनि क्रमैसँग साझेदारी गर्दै जाने योजना रहेको प्रिन्सिपल पौडेलले बताए ।