द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’लाई दर्शकले रुचाएका छन् । मल्टीस्टारर सिनेमा हेरेका जति दर्शकले तारिफ गर्दै हलबाट निस्किएका छन् ।
मुख्य पात्र पल शाह र आँचल शर्माको विवाहलाई लिएर दुई परिवार विच निम्तिएको उतारचढावलाई केन्द्रीय द्वन्द बनाएको कमेडी सिनेमालाई सिनेपत्रकारहरुले पनि रुचाएका छन् । शुक्रबार दिउँसो कुमारी हलमा गरिएको प्रेस शोमा अधिकाँस पत्रकारले सिनेमाको वाहवाही गरे । साथै, सिनेमाबाट निर्देशक प्रदिप भट्टराईलाई बधाईको ओइरो नै लाग्यो । यसअघि ‘जात्रा’ निर्देशन गरेर निर्देशक भट्टराईले उत्तिकै चर्चा कमाएका थिए ।
सिनेमाले शुकबार देशभर दर्शकको राम्रो साथ पाउन सफल भएको छ । विहानी शोजमा ७० प्रतिशत अकुपेन्सी कायम गरेको सिनेमाले दिवा शोजमा अधिकाँस हलमा शतप्रतिशत दर्शक बटुल्यो । सिनेमाको ‘वर्ड अफ माउथ’ राम्रो भएकाले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने अड्कलबाजी गरिएको छ ।

सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।
महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।
तस्विर: कुशल राई


प्रतिक्रिया