२४ लागे अनमोल, छोटो समयमै लोभलाग्दो करियर

२४ लागे अनमोल, छोटो समयमै लोभलाग्दो करियर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – युवास्टार अनमोल केसीको आज जन्मदिन परेको छ । पिता भुवन केसी र माता सुस्मिता बम्जनको कोखबाट जन्म लिएका अनमोल आज बाट २४ औं बसन्तमा पाइला टेकेका छन् ।

नेपाली सुपरस्टार भुवन केसी र अभिनेत्री सुस्मिता बम्जनकै छोरा भएका कारण उनको बाल्यकाल सिनेसर्कलका व्यक्तित्वहरुसँग बित्यो । अहिले नेपालको सर्वाधिक स्टारडमवाला अभिनेताको रुपमा पहिचान बनाएका अनमोलको छोटो सिनेकरियर सम्झनलायक छ ।

अहिलेसम्म अनमोलका ५ सिनेमा रिलिज भैसकेका छन् । र यी सिनेमाबाट अनमोलले असफला बेहोर्नु परेको छैन । सिधा भाषामा बोल्दा यी सबै सिनेमा हिट भए । अनमोलको डेब्यु सिनेमा ‘होस्टेल’ हो । तर, यो भन्दा अगाडी अनमोल पिता भुवन केसीको सिनेमा ‘साथी म तिम्रो’को एक गीतमा देखिएका थिए ।

अनमोल केसीको फेसबुक प्रोफाइलबाट लिईएको तस्विर

त्यसपछी ‘होस्टेल’बाट डेब्यु गरे । ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’ र ‘कृ’ डेब्यु पछीका हिट सिनेमा हुन् । अहिले अनमोल नयाँ सिनेमा ‘क्याप्टेन’मा व्यस्त छन् । यसका अलावा अनमोल सुस्मिता बम्जन निर्मित सिनेमा ‘म त तिम्रै हुँ’मा अतिथिको भूमिकामा देखिएका थिए ।

अनमोलको स्टारडमले नेपाली अभिनेताहरुको पारिश्रमिकमा व्यापक उछाल ल्यायो । पहिलो पटक २० लाख माथि पारिश्रमिक लिने अभिनेता अनमोललाई ५० लाखसम्मको अफर आउने गरेको बताइन्छ ।

अनमोलले छैटौं सिनेमासम्म आइपुग्दा फरक-फरक अभिनेत्रीसँग काम गरेका छन् । पहिलो सिनेमा ‘होस्टेल’मा प्रकृति श्रेष्ठ, ‘जेरी’मा आना शर्मा, ‘ड्रिम्स’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, ‘गाजलु’मा सृष्टि श्रेष्ठ, ‘कृ’मा अदिति बुढाथोकीसँग स्क्रिन शेयर गरेका अनमोलले आगामी सिनेमा ‘क्याप्टेन’बाट नयाँ अभिनेत्री भित्राउदै छन् ।

अनमोललाई जन्मदिनको शुभकामना