‘लिलिबिली’द्वारा वर्षको आक्रामक सुरुवात, पुन: देखियो प्रदीपको क्रेज

‘लिलिबिली’द्वारा वर्षको आक्रामक सुरुवात, पुन: देखियो प्रदीपको क्रेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नयाँ वर्षको छेको पारि २०७४ को अन्तिम दिन रिलिज भएको सिनेमा ‘लिलिबिली’ले साल २०७५ लाई आक्रामक रुपमा स्वागत गरेको छ ।

रिलिजको दोस्रो दिन अर्थात बैशाख १ गते सिनेमाले देशभरका सबै हलमा हाउसफुलको व्यापार गर्यो । सिनेमाले रिलिजको पहिलो दिन ६५ प्रतिशत अकुपेन्सी कायम गरेको थियो । तर, दोस्रो दिन अभिनेता प्रदीप खड्काको क्रेजले सम्पूर्ण हलमा दर्शकको भिड लगायो ।

देशका सबैजसो हल हाउसफुल बन्दा केहि हलमा दर्शकले टिकट नपाएर फर्केकासमेत खबरहरुले सिनेमा बजार तरंगित पार्यो । शनिबार दर्शकलाई नयाँ वर्षको शुभकामना दिन र ‘लिलिबिली’ प्रतिक्रिया बुझ्न प्रदीपसँगै अभिनेत्री जसिता गरुङ, निर्देशक मिलन चाम्स, निर्माता गोविन्द शाही उपत्यकाका विभिन्न हलमा पुगे ।

जहाँ प्रदीपको क्रेज मज्जैले देख्न सकिन्थ्यो । सिनेमा हेर्न आएका हजारौ दर्शक प्रदीप र जसिताको एक झल्को पाउँन मरिहत्ते गरिरहेको देख्न सकिन्थ्यो । प्रदीपकै कारण प्रतिक्षित रहेको ‘लिलिबिली’बाट डेब्यु गर्ल जसिताले पनि दमदार इन्ट्री मारेकी छन् । उनले पहिलो सिनेमाबाटै अभिनयमा तारिफ बटुलिरहेकी छन् ।

सिनेमा हेरिसकेका दर्शकले प्रदीप र जसिताको जोडीको खुबै तारिफ पनि गर्न भ्याए । सिनेमालाई समिक्षकबाट मिश्रीत र दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

सिनेमामा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।

प्रेस शोमा रुचाइयो प्रदीप र जसिताको ‘लिलिबिली’