निर्मातासंग वार्ता गर्न हल संचालक तयार

निर्मातासंग वार्ता गर्न हल संचालक तयार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र निर्माता संघ नेपालले २०६० मा निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौता कार्यन्वयन नभएको भन्दै आन्दोलनको घोषणा गरेपछी चलचित्र संघ वार्तामा आउन तयार भएको छ ।

शुक्रबार संघका अध्यक्ष प्रदीपकुमार उदयको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यीय कार्यदल गठन गर्दै  वार्ताको लागि प्रेस विज्ञप्ति जारी गरेको हो । उसले संघ सदैव पारदर्शिता तथा मनोवैज्ञानिक शेयर बाँडफाँड र अन्य समस्याप्रति पनि सकारात्मक हुँदै आएको र विगतमा पनि समस्याहरु वार्ता तथा सहमतिबाटै समाधान हुने भन्दै कार्यन्वयनका लागि तयार भएको बताएको छ ।

भास्कर ढुंगाना संयोजक रहेको पाँच सदस्यीय कार्यदलमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, त्रिरंत्न मानन्धर र भरत अग्रवाल छन् । कार्यदलले जेठ १० गते भित्र वार्ता गरि समस्या समाधान गर्न समयसीमा तोक्ने निर्णय गरेको छ ।

नेपाल चलचित्र निर्माता संघको संघर्ष समितिका संयोजक रोज राणाको अध्यक्षतामा शुकबार ३ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरिएको थियो । जहाँ वार्ता सफल नभए जेठ १ गते सम्पूर्ण निर्माताहरु कालोपट्टी बाँधेर हलहरुमा उपस्थित हुने, जेठ २ गते कुनै पनि सिनेमाको सेन्सर नगर्न दवाव दिँदै चलचित्र विकास बोर्डमा धर्ना दिने र जेठ ४ गते देखि सम्पूर्ण हलमा सिनेमा प्रदर्शनमा रोक लगाउने कार्यक्रम थियो ।

२०६० सालमा काठमाण्डौ उपत्यकामा सिनेमा प्रदर्शन पश्चात उठेको कुल रकममा भ्याट कट्टा गरी बाँकी रकममा चलचित्र भवनको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्रको आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्म लिने सहमति कार्यन्वयन नभएको भन्दै चलचित्र निर्माता संघले वार्ताको लागि पहल गरेको थियो । जहाँ बक्स अफिस कार्यन्वयन सम्वन्धमा नेपाल नेपाल सरकारले तोकेको समयसीमा भित्रमा पारदर्शीसहितको बक्स अफिस कार्यन्वयनका लागि पनि माग गरिएको थियो ।