बक्स अफिस सम्पूर्ण निर्माताहरुको माग हो, ‘एउटी महिलालाई सिध्याउन मिटिङ नबस्नुस्’=निकिता पौडेल

बक्स अफिस सम्पूर्ण निर्माताहरुको माग हो, ‘एउटी महिलालाई सिध्याउन मिटिङ नबस्नुस्’=निकिता पौडेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बक्स अफिस कार्यन्वयनलाई लिएर विकास वोर्ड अध्यक्ष निकिता पौडेलले कडा अभिव्यक्ति दिएकी छन् । अध्यक्ष पौडेलले आफू महिला भएकै कारण न्वारनदेखिको बल लगाएर असफल बनाउन लागिपरेका दाइ, अंकल, बुबाहरुप्रति दया लागेको र आफ्नो चित्त दुखेको बताएकी छन् । फेसबुकमा निकै लामो स्टाटस लेख्दै बोर्ड अध्यक्षले भनेकी छन्-‘नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाई महत्वपूर्ण मैले कहिलेपनि मानेकी छैन । मैले कहिले संचारमन्त्रीको अगाडि हिन्दी चलचित्रको पक्षमा बोले ?’  उनले रातभर शहरका कुनै रेष्टुरेन्टमा बसेर एउटा महिलालाई कसरी सिध्याउने भन्ने बिषयमा मिटिङ नगर्न समेत चेतावनी दिएकी छिन् । उनले, सबैको पक्षमा हुने काम गर्न बोर्ड तयार रहेको भन्दै बोर्डको ढोका सधै खुल्ला रहेको समेत स्पष्ट पारेकी छिन् । निकिता पौडेलले लेखेको स्टाटस यस्तो छः

‘बक्स अफिस सम्पुर्ण निर्माताहरुको माग हो र नेपाली चलचित्र जगतको आजको आवस्यकता हो । म थोरै बोल्ने र धेरै काम गर्ने स्वभावकि मान्छे हुँ । तर बोल्न मात्र जनेकाहरुको भिडले मलाई पनि केहि बोल्न बाध्य पार्यो । म महिला भएका कारण कुनै सहानुभुति चाहन्न तर एउटी महिला माथी आफ्नो न्वारान देखिको बल लगाएर लागि परेका दाइहरु, अन्कलहरु, बुवाहरुदेखि दया लागेको छ, चित्त दुखेको छ । अनि मैले नभनेको मात्र होइन, सोच्दापनि नसोचेको कुरा, ठ्याक्कै पत्याउने शैलीमा लेख्ने कला भएका केही भाईहरुदेखि झन दया लागेको छ । नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्रलाइ महत्वोपुर्ण मैले कहिलेपनि मानेकी छैन । माननीय सन्चार राज्य मन्त्री ज्यु सँग मेरो भेट हुँदा मैले कुन दिन हिन्दी सिनेमाको पक्षमा बोले ?

म यस्ता झुठा समाचारप्रति संचार मन्त्रालयको पनि ध्यानाकर्षण गराउन चाहन्छु । र म यस्ता झुठा समाचार लेखाउन आफ्नो तन मन धन लगाउनेहरुलाई राम्ररी चिन्छु पनि । आफ्नो कार्यकालमा बक्स अफिसको नाम चाहि लिने तर गफ मात्र गर्ने, काम चाहिं नगर्नेको राजनीतिक दौड पनि देख्दै छु । बा बा कत्रो चलखेल । तर म आफ्नो कार्यकाल यस्ता गफ र रेस्टुरेन्टहरुमा रातभर गरिने राजनीतिबाट अलग राख्न चाहन्छु । नेपाली सिनेमा प्रतिको मेरो लगाव, मेरो बुवा उद्धव पौडेलको समर्पण र हामी संलग्न संस्थाको योगदान, हिजो आएर ब्यापार मात्र गर्ने तर ज्यादै बोल्न खप्पिस केही हल संचालकहरुले मुल्यांकन गरेको देख्दा हाँसो उठ्छ ।

म त्यस्ता व्यक्तिहरुलाई नेपाली सिनेमाको ईतिहास र त्यसमा हाम्रो योगदान, बिना पुर्वाग्रह खोज्न अनुरोध गर्दछु । मलाई राम्रोसँग थाहा छ, यहाँ कोहि राजनितीक पार्टीमा योगदान दिएको बिवरण बुझाउँदै बिकास बोर्डमा अध्यक्ष हुन लाइन लागेका छन, कोहि बक्स अफिस लगाएको क्रेडिट आफैले लिन मात्र मेरो बिरोध गर्दैछन । कसैलाई त म नजन्मिदैं उद्ध्व पौडेलसँग परेको झगडाको रिस पनि यहि मौकामा पोख्नु छ । म सबैलाई एक मुस्ठ भन्न चाहन्छु, म यहि क्षेत्रमा समर्पित सिनेमा साधक हुँ । मैंले यहि क्षेत्रमा केही गर्छु भनेर मिडिया प्रोड्क्सन मा अन्र्तराष्ट्रिय डिग्री लिएकी हुँ । आफ्नो कार्यकालमा आफुले गर्ने सम्पुर्ण कार्य योजना, त्यसको कार्यान्वयनको खाका र आफ्नो भिजन मैंले नेपाल सरकारलाई स्पष्ट रुपमा बुझाएकी छु । कसैको दबाब, डर धम्की वा प्रभावमा नपरी आफ्नो काम सम्पन्न गरेरै छाड्ने अठोट लिएर नै मैले यो जिम्मेवारी लिएकी हुँ ।

म दिन रात राजनीति गरेर, बेतालका गफ गरेर एक मिनेटपनि समय खेर फाल्न चाहन्न । आफ्नो कार्यकाल भित्र बक्स अफिस पुर्ण रूपमा लागू गराउने लगायतका केही महत्वापुर्ण काम गर्न चहान्छु । यो मेरो व्यक्तिगत रहरको कुरा मात्र होइन नेपाल सरकारको नीति हो । त्यो भन्दा ठुलो कुरा, बक्स अफिस सम्पूर्ण निर्माताहरुको माग हो र नेपाली चलचित्र जगतको आजको आवश्यकता हो । याद राख्नु होला, केही फुर्सदिला महानुभावहरुको दाउपेचमा लागेर मेरो बिरोध गरिरहंदा, बक्स अफिस लगाउन नदिने व्यक्तिहरुले यसको भरपुर फाइदा उठाईरहेका छन् ।

केही अनलाईन न्युज पोर्टलहरु त्यस्ता व्यक्ति र समुहले जे भन्यो त्यही न्युज सम्प्रेषण गरिरहेका छन् । आफ्नो कलम त्यसरी कौडिको भाउमा नबेच्न म केही पत्रकार मित्रहरूलाई अनुरोध गर्दछु । मेरो पक्षमा लेख्नु भन्न खोजेको होइन खाली बुझेर लेखिदिनु होला भन्न चाहन्छु । चलचित्र बिकास बोर्ड नेपाली निर्माताहरुको पक्षमा त छँदैछ, त्यो भन्दापनि माथी सम्पुर्ण नेपाली फिल्म ईन्ड्स्ट्रीको उत्त्थान र उन्नतिमा समर्पित छ । नेपाल सरकार बक्स अफिस लागू गर्न कुनैपनि किसिमको सहयोग गर्न तयार रहेको कुरा माननीय मन्त्रीज्युले मलाई पटकपटक बताउनु भएको छ ।

त्यसैले बेकारको गफ र बेअर्थको राजनीतिमा खर्च गर्ने समय अफ्नो सिनेमाको स्क्रिप्ट, काष्ट, क्रियशन, क्रियटिभ आईडियामा खर्च गरौं । यसले नेपाली सिनेमाको स्तर बढ्छ । रात रात भर शहरका रेस्टुरेन्टमा बसेर एक महिलालाई कसरी सिध्याउँने भन्ने मिटीङ नबस्नुस् । यसको आवश्यकता नै छैन । म जीवन भर बिकाश बोर्डमा हुने होइन तर जति समय रहन्छु । केही उल्लेख्य काम गरेरै छाड्छु ।

अब यो लेखको शब्द शब्द केलाएर, अनेक अर्थ निकालेर मिटिङ माथी मिटिङ गरेर, थरी थरी प्लान गर्ने कष्ट नगरि दिनुहोला प्लिज । सँगै  मिलेर केही गरौ न, हुन्न ? बरु भन्नुहोस्, सबै पक्षको हितका लागि हामी सबै एकै ठाउमा कहिले र कहाँ बस्ने ? चलचित्र बिकास बोर्डको ढोका भने सबै बिषयमा, सबैकालागि, सधै खुल्ला छ ।