‘ए मेरो हजुर ३’ भव्य प्रिमियर, अनमोल र सुहानालाई प्रसंशाको ओइरो !

‘ए मेरो हजुर ३’ भव्य प्रिमियर, अनमोल र सुहानालाई प्रसंशाको ओइरो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट रिलिज भएको सिनेमा ‘ए मेरो हजुर ३’को भव्य प्रिमियर बिशिबार राजधानीको कुमारी हलमा आयोजना गरिएको थियो । झरना थापाको निर्देशन निर्माण भएको सिनेमा हेर्नका लागि सिनेमाकर्मी, पत्रकार र निर्माण टिमका आफन्तहरुको बाक्लो उपस्थीती रहेको थियो । कुमारी हलमा निकै व्यवस्थित तरिकाले आयोजित प्रिमियरमा सिनेमा हेरिसकेपछि अधिकांश सिनेमाकर्मी र पत्रकारले डेव्यु अभिनेत्री सुहाना थापाको कामको तारिफ गरेका छन् । केही सिनेमाकर्मीले ‘ए मेरो हजुर ३’मा सुपरस्टार अभिनेता अनमोल केसीले उत्कृष्ट काम गरेको बताए ।

 

सुहानाले पहिलो सिनेमामा नै देखाएको अभिनयको उच्च क्षमताको सबैले मुक्तकण्ठले प्रशंसा गरे । एक फ्यान र स्टारको कथालाई प्रस्तुत गरिएको सिनेमाले दर्शकको मन जित्ने विश्वास सिनेमाकर्मीको छ । प्रिमियरमा शोमा सिनेमाका मुख्य अभिनेता अनमोल केसी, डेव्यु गर्ल सुहाना थापा, निर्देशक झरना थापा, नायक सलोन बस्नेत, निर्माता सुनिलकुमार थापा उपस्थित थिए ।

यस्तै, सिनेमा हेर्नका लागि निर्माता तथा कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, नायिका करिश्मा मानन्धर, नीता ढुंगाना, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई, सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे, निर्देशकहरु दिवाकर भट्टराई, सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी, माधव वाग्ले, रोहित अधिकारी लगायत कुमारी हल पुगेका थिए ।

सिनेमा हेरिसकेपछि निर्देशक दीपाश्री निरौलाले भनिन्, ‘झरनाजीले छोरी त जन्माउनुभयो, तर सिनेमा क्षेत्रका लागि एउटा उत्कृष्ट कलाकार जन्माउनुभएको छ । अनमोल त अनमोल भैहाले ।’ यस्तै, दिपकराज गिरीले पनि राम्रो सिनेमा बनाउन मिहिनेत गरिएको बताए । हरेक कुरामा सिनेमा उत्कृष्ट बनेको उनले बताए ।

यस्तै, सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेले सिनेमा उत्कृष्ट भएको बताए । उनीहरुले सुहाना र अनमोलको कामको प्रशंसा गरे । नायिका नीता ढुंगानाले पनि सिनेमाले आफ्नो मन छोएको सुनाइन् । उनले, सुहानाको काम उत्कृष्ट रहेको बताइन् ।

यस्तै, निर्देशक रेनशा वान्तवा राइले पनि सिनेमा एउटा पूर्ण मनोरञ्जनको प्याकेज रहेको बताइन् । सिनेमाको कथालाई एकदमै आकर्षक तरिकाले प्रस्तुत गरिएको उनको भनाई छ । यस्तै, अनमोल केसीको अभिनयको हिसाबले ‘ए मेरो हजुर ३’मा उत्कृष्ट काम गरेको बताइन् । रेनेशाले सुहानाको सिनेमा क्षेत्रमा निकै उज्ज्वल भविष्य भएको प्रतिक्रिया दिइन् । प्रिमियरमा निकै नै राम्रो तारिफ पाएको सिनेमा ‘ए मेरो हजुर ३’ले हलमा समेत राम्रो व्यापार गर्ने अपेक्षा अधिकांश सिनेमाकर्मीको छ, तर सिनेमाले कस्तो व्यापार गर्छ त्यो हेर्न बाँकी नै छ ।