तेस्रो हप्तामा ‘ए मेरो हजुर ३’, पुनः रिलिज ‘छक्का पञ्जा २’

तेस्रो हप्तामा ‘ए मेरो हजुर ३’, पुनः रिलिज ‘छक्का पञ्जा २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फ्राईडे रिलिज अन्तर्गत आज हलमा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । यो शुक्रबारबाट नयाँ नेपाली सिनेमा ‘कालो वर्ष’ र ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आएको छ । लक्षु गौतमको निर्देशनमा निर्माण भएको सिनेमामा नयाँ कलाकारको बाहुल्यता रहेको छ । यस्तै दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा २ वर्ष पहिले प्रदर्शनमा आएको सुपरहिट सिनेमा हो ।

यस्तै, नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ए मेरो हजुर ३ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । पहिलो दोस्रो सातामा बम्पर व्यापार गरेको सिनेमाले दुई सातामा लगभग ८ करोड ग्रस व्यापार गरेको छ । झरना थापाको निर्देशनमा निर्माण भएको सिनेमाबाट डेव्यु गरेकी सुहाना थापा र सुपरस्टार अनमोल केसीको केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।

हलिउडको ठूलो सिनेमा ‘एभेन्जर्स – इन्ड गेम’ को डरले ’दाल भात तरकारी’ एक साता पछाडि सरेपछि ‘कालो वर्ष’ र ‘छक्का पञ्जा २’ ले शुक्रवार (बैशाख १३) लाई प्रदर्शन मिति घोषणा गरेका थिए । दुबै सिनेमा सिंगल स्क्रिनमा मात्र रिलिज भएका छन् । मल्टीप्लेक्समा यी दुई सिनेमाले ‘एभेन्जर्स’ का कारण एक सोज पनि पाएका छैनन् ।

सिनेमाले पुनः प्रदर्शनमा पनि मल्टीप्लेक्सहरुमा उच्च सोज पाउने निर्माण टिमको आशा थियो । तर, राजधानीका कुनै मल्टीप्लेक्सहरुले यो सिनेमा रि-रिलिज गर्न चासो देखाएनन् । अन्ततः सिनेमा सिंगल स्क्रिनमा मात्र रिलिज भएको हो । यसमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतको अभिनय रहेको छ ।

यता, आजैबाट प्रदर्शनमा आएको अर्को सिनेमा ‘कालो वर्ष’ मा ओकेश पनेरु र अनुपा खड्का प्रमुख भूमिकामा छन् । सिनेमालाई रामेश्वर हुमागाइँले छायांकन गरेका हुन् । सिनेमामा पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेजलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसमा योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काले मिलेर निर्माण गरेका हुन् ।