निरलाई लाइफटाइम, शोभित, देविका, अनन्तलाई सम्मान र पुरस्कार

निरलाई लाइफटाइम, शोभित, देविका, अनन्तलाई सम्मान र पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै उक्त अवसरमा छायाँछवि सिनेमाकर्मी रजत सम्मान –०७६ बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत सिनेमामा पाश्र्व गायनको रुपमा सक्रिय हुँदै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि सिनेमा निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ ।

यसै अवसरमा छायाँछवि सिनेमा पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत हुने भएका छन् । आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्ती मार्फत उक्त कुरा जनाएका हुन् । ११औं इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का अवसरमा ४ सिनेमाकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो । कार्यक्रम यहि वैशाख २१मा काठमाडौंमा आयोजना हुँदैछ ।

छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड –०७६ बाट पुरस्कृत हुने व्यक्तित्व हुन् नीर शाह । उनले थुप्रै नेपाली सिनेमामा अभिनय गर्नुका अलावा बसन्ती, राजमति, सेतो बाघ जस्ता अब्बल सिनेमा निर्देशक हुन् । विगत ५० वर्षभन्दा लामो अवधिदेखि टेलिभिजन एवं सिनेमामा सक्रिय नीर शाह अब्वल कलाकार एवं निर्देशकका रुपमा परिचित छन् ।

छायाँछवि सिनेमाकर्मी रजत सम्मान –०७६ (महिला) बाट सम्मानीत हुँदै गरेकी देवीका बन्दना पाश्र्व गायनमा एक समयको चर्चित नाम हो । यस्तै रहेछ यहाँको चलन…बोलको आधुनिक गीतबाट आफुलाई गायिकाको रुपमा स्थापित गराएपनि उनी पाश्र्व गायिकाकै रुपमा चिनिएकी छन् । उनले थुप्रै सिनेमाका सुपरहिट गीतमा आफ्नो स्वर समावेश गरेकी छन् ।

यस्तै छायाँछवि सिनेमाकर्मी रजत सम्मान –०७६ (पुरुष)बाट पुरस्कृत हुँदै गरेका शोभित बस्नेत एक समय उम्दा निर्देशकको रुपमा चिनिन्थे । राजकुमार नामक सिनेमाबाट २०५१ सालदेखि निर्देशन यात्रा प्रारम्भ गरेका शोभितले –०७६ सम्म आइपुग्दा २९ वटा सिनेमाको निर्देशन गरिसकेका छन् ।यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार –०७६ बाट पुरस्कृत हुँदै गरेका रंग पत्रकार हुन् अनन्त वाग्ले । २०४७ सालमा माधुरी नामक पत्रिकारबाट रंगपत्रकार प्रारम्भ गरेका अनन्तले कान्तिपुर साप्ताहिक, गोरखापत्र, स्टारडम, गीताञ्जली जस्ता मिडिया हुँदै अहिले अन्नपूर्ण पोष्टको मनोरञ्जन विभाग प्रमुख भएर कार्य सम्पादन गरिरहेका छन् ।

११औं इएनआई छायाँछवि डि सिने अवार्ड –०७६ का अवसरमा प्रदान गरिनेसम्मान एवं पुरस्कार अन्तर्गत छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु.२५०२५।– सहित प्रमाण–पत्र दोसल्लाको सम्मान रहेको छ भने छायाँछवि सिनेमाकर्मी रजत सम्मान–०७६ मा प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान गरिनेछ । यस्तै छायाँछवि सिनेमा पत्रकारिता पुरस्कारमा नगद रु.१११११।– सहित प्रमाण–पत्र एवं दोसल्ला सम्मान गरिने कुरा आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए ।