सुहानाको बर्थडेमा, ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी

सुहानाको बर्थडेमा, ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत वर्षको चैत २९ रिलिज भएको सिनेमा ‘ए मेरो हजुर ३’ले राजधानीमा सक्सेस पार्टी सेलेब्रेसन गरेको छ । डेब्यु गर्ल सुहाना थापाको जन्मदिनको अवसर पारेर गरिएको सेलेब्रेसनमा फिल्मले झन्डै एक महिने लामो प्रदर्शन तय गर्न सफल भयो ।

केहि सिनेमाकर्मी, पत्रकार, नजिकका आफन्त र ‘ए मेरो हजुर ३’को टिमको उपस्थितिमा सम्पन्न पार्टी अबेरसम्म चलेको थियो । सुहानाको २१ औँ जन्मदिनमा झरना थापाले करिअर सुरु गरेको सिनेमा २१ वर्ष नै पुगेको छ ।

त्यस्तै सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टले सिनेमा निर्माणको पनि २१ वर्ष पुरा गर्यो । छोरी सुहाना जन्मिएपछि झरनाले होम प्रोडक्सनको सिनेमा ‘धर्म संकट’बाट लिड हिरोइनमा डेब्यु गरेकी थिइन् । जुन सिनेमा सुनिलकुमारले निर्माण गरेका थिए । २१ औँ वर्ष लामो कार्यकालमा झरना र सुनिलले सुहाना जस्तो प्रतिभाशाली कलाकार सिनेमा क्षेत्रलाई दिएका छन् ।

निर्देशक दीपाश्री निरौला, अभिनेताद्वय भुवन केसी र रमेश उप्रेतीले सुहानाको उज्ज्वल भविष्यको कामना गरे । झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रविन्द्र झा, रूपा घिसिङ, रक्षा गौतम, बिशाल पहाडी, रेअर राई, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

बक्सअफिसमा १० करोड नजिक

एक महिने लामो प्रदर्शनमा सिनेमाले अलनेपाल ९.५० करोड माथिको व्यापार गरिसकेको छ । सिनेमाले लाइफटाइम १० करोडको व्यापार गर्ने अनुमान छ । साथै, ‘ए मेरो हजुर ३’ अनमोल, झरना र सुनिलकुमारको करिअरकै सर्वाधिक कमाउने सिनेमाको रुपमा उभिएको छ ।‘छक्का पन्जा ३’ पछाडी सुस्ताएको व्यापारलाई उकास्ने क्रममा ‘ए मेरो हजुर ३’ले केहि मल्टीप्लेक्स र सिंगल स्क्रिनमा पाँचौ साताको यात्रा तय गर्दैछ । सिनेमाले केहि हलमा ५१ दिन मनाउने संकेत पनि देखाएको छ ।