बिदेशका दर्शकले ‘भिडियो पसलमा’ हेर्नुस नयाँ नेपाली सिनेमा

बिदेशका दर्शकले ‘भिडियो पसलमा’ हेर्नुस नयाँ नेपाली सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विदेशमा रोजगारी गरेर नेपाली सिनेमाको प्रतिक्षा गर्ने दर्शकले अब नेपाल रिलिजकै हप्ता सिनेमा हेर्न पाउने भएका छन् । हालै सार्वजनिक एक एप्सले नेपाल रिलिजकै दिनमा विदेशका दर्शकले पनि शःशुल्क सिनेमा हेर्न पाउने व्यवस्था मिलाउने भएको छ ।

नेपाली सिनेमा तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनि ओएसआर डिजिटलले ‘भिडियो पसल’ नामक एप्स सञ्चालनमा ल्याएको छ । सुरुवातमा नेपाल बाहिर मात्रै डाउनलोड गर्न मिल्ने यो एप्स मार्फत नेपालमा हरेक शुक्रबार रिलिज हुने ‘फ्रेस सिनेमा’ रोजगारीको शिलशिलामा बिदेशीयका दर्शकले पनि एकै समय हेर्न पाउनेछन् ।नेपालमा सिनेमा रिलिज हुँदा एकसाथ विदेशमा प्रिमियर हुँदा मात्र सिमित समयमा सिमित दर्शकले सिनेमा हेर्ने अवस्था थियो भने राम्रो चर्चा बटुलेका र देशभित्र हिट भइसकेका सिनेमाको विदेश रिलिज पर्खिनुपर्ने अवस्थालाई चिर्दै न्युनतम शुल्कमा सबैजसो सिनेमा चाहेको समयमा हेर्न पाउने व्यवस्था एप्समार्फत गरिएको हो, ओएसआर डिजिटलले भनेको छ, ‘पाइरेसीको कुनै अबसर नहुनेगरी एक पटक पैसा तिरेपछि हप्ताभरी जुनकुनै समयमा पनि सिनेमा हेर्न पाउने गरी भिडियो पसलको सुरुवात गरिएको छ ।’

एन्ड्रोइड र आएओएस (एप्पल) दुबै कम्पनिको मोबाइलको प्ले स्टोरमार्फत डाउनलोड गर्न सकिने एप्समा १ देखी ३ डलरसम्म मात्रै शुल्क तिर्दा ग्रेड अनुसारका सिनेमा हेर्न मिल्नेछ । सुरुवाती चरणमा पछिल्लो क्रममा रिलिज भएका सिनेमा ‘क्याप्टेन’, ‘द ब्रेकअप’ ‘प्रसाद’ ‘रणबीर’ अपलोड भइसक्दा अबको केहि हप्ताबाट नै नेपालमा प्रदर्शनको दिनमा नै सबै सिनेमा एप्समा उपलब्ध हुने बताइएको छ । ‘सम्बन्धित सिनेमाको निर्माण कम्पनिसँगको आपसी सम्झौतामा अधिकार खरिद गरेर उपलब्ध भएसम्मका हरेकजसो सिनेमा नेपाल बाहिरका दर्शकले एकै मितिमा हेर्न पाउने व्यवस्था मिलाउँदै जानेछौँ,’ सञ्चालक टिमको भनाइ छ ।

नेपाली सिनेमाको बजार विश्वव्यापी बन्दैगर्दा सुरु भएको यो प्रकारको प्रविधिले निर्माताहरुलाई व्यापारिक रुपमा राहत प्रदान गर्ने भन्दै विभिन्न सिनेमाकर्मी तथा कलाकारहरुले ओएसआरका यो कदमलाई स्वागत गरेका छन् ।