‘प्रेमगीत ३’ निर्देशक छेतेन गुरुङको असामयिक निधन

‘प्रेमगीत ३’ निर्देशक छेतेन गुरुङको असामयिक निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक तथा लेखक छेतेन गुरुङको असामयिक निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार काठमाडौँको मेट्रो अस्पताल भर्ना भएका छेतेनको बुधबार विहान २ बजे निधन भएको हो ।


छेतेनको लिभरमा समस्या रहेको उनका नजिकका सहकर्मी सन्तोष सेनले जानकारी दिए । ‘दुई दिन अगाडी एक्कासी रगत वान्ता गर्न थालेपछि उहाँको परिवारले फोन गर्नु भएको थियो । त्यसपश्चात हामीले अस्पताल पुर्यायौँ । उहाँलाई आइसीयुमा भर्ना गरियो । केस क्रिटिकल थियो ।’ सेनले पीडादायी आवाजमा भने ।

बि.स. २०३५ साल माघ २२ गते जन्मिएका गुरुङ मात्र ४२ वर्षका थिए । उनले २०७१ सालमा ‘नोभेम्बर रेन’बाट सिनेमा लेखनमा हात हालेका थिए । उनले पहिलो सिनेमाबाटै अवार्ड जितेका थिए । त्यसै वर्ष उनले सिनेमा ‘आभाष’मा संगीतकार र गीतकारको रुपमा आफुलाई उभ्याएका थिए ।

०७२ सालको ‘क्लासिक’ र ०७४ सालको ‘डायरी’मा कथा, पटकथा र संवाद लेखेका गुरुङले ०७५ सालमा सिनेमा ‘डमरुको डण्डीवियो’बाट निर्देशकीय यात्रा थालनी गरेका थिए । उक्त सिनेमाबाट गुरुङको निर्देशकीय क्षमताको प्रशंसा पनि भयो । फलस्वरूप केहि अवार्ड समारोहमा उनले नव-निर्देशकको अवार्ड जिते । यसै वर्षको सुपरहिट सिनेमा ‘ए मेरो हजुर ३’को लागि पनि गुरुङले पटकथा र संवाद लेखेका थिए ।

छेतेनको पछिल्लो निर्देशकीय सिनेमा ‘प्रेमगीत ३’ हो । सन्तोष सेनसँगको निर्देशकीय सहकार्यमा बनेको यो सिनेमा रिलिज हुनै बाँकी छ । गत चैत २८ गते रिलिज हुने भनिएको सिनेमा कोरोना महामारीका कारण पोस्ट-प्रोडक्सनमा छ ।

यस्तै सन्तोषसँगै मिलेर गुरुङले सिनेमा ‘हु.तु.तु’ निर्देशनको तयारी गरिरहेका थिए । तर, गुरुङको निधनपछि ‘हु.तु.तु’को सम्पूर्ण भार सन्तोषको हातमा आइपुगेको छ ।