५ वर्षमै ५० को हारहारीमा सिनेमा गरेका दिलिप

५ वर्षमै ५० को हारहारीमा सिनेमा गरेका दिलिप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नृत्य र अभिनयमा पोख्त अभिनेता दिलिप रायमाझीको आज विश्वकर्मा पूजाको दिन जन्मदिन परेको छ । उनि ४० वर्षमा लागेका छन् ।

आजभन्दा २१ वर्ष अगाडी सिनेमा ‘आदिकवि भानुभक्त’बाट डेब्यु गरेका दिलिप कुनै समय निक्कै व्यस्त मानिन्थ्ये । सन् १९९९ को डेब्युपछि दिलिपले पछाडी फर्केर हेर्नु परेन । छोटो समयमै उनको करिअरमा सिनेमाको चाङ लाग्यो ।

सन् २००० दिलिप सिनेमा क्षेत्रमा भित्रिएको दोस्रो वर्ष थियो । तर, यो वर्ष उनका ‘पिरती आफै हुँदो रहेछ’, ‘सोह्र वर्षे जोवन’, ‘दर्पण छायाँ’, ‘लक्ष्मणरेखा’ र ‘जिन्दगानी’सहित पाँच सिनेमा रिलिज भए । यी सिनेमाको सफलताले दिलिपको ग्राफ ह्वात्तै बढाइदियो । उनका प्रत्येक साल १० भन्दा बढी सिनेमा रिलिज हुने थाले ।

उनका २००१ र २००२ मा १०/१० ओटा सिनेमा रिलिज भए । २००३ मा चार ओटा मात्र सिनेमा रिलिज गरेका दिलिप २००४ मा १३ ओटा सिनेमा मार्फत दर्शक समक्ष पुगे । २००५ देखि २००७ सम्म दिलिपका क्रमस… ५, ६ र ९ सिनेमा रिलिज भए । २० वर्षे करिअरमा सय भन्दा बढी सिनेमामा अभिनय गरेका दिलिपले सुरुवाती पाँच वर्षमै ५० को हारहारीमा सिनेमा गरिसकेका थिए ।

केहि वर्ष अगाडी अमेरिकाको ग्रिनकार्ड लिएर स-परिवार अमेरिका पुगेका दिलिपले नेपाली सिनेमामा कमब्याकसमेत गरिसकेका छन् । उनको दोस्रो अध्यायको सिनेयात्रा भने सहज देखिएको छैन । उनले पछिल्लो समय केहि सिनेमामा अभिनय गरेका छन् । तर, सफलता पाउन सकेका छैनन् ।

‘दर्पण छायाँ’, ‘जिन्दगानी’, ‘सोह्र वर्षे जोवन’, ‘आफ्नो मान्छे’, ‘नौं डाँडापारी’, ‘बादलपारी’, ‘सुपरस्टार’, ‘लहना’, ‘मामाघर’, ‘मुस्कान’, ‘पाहुना’, ‘माँझीदाइ’, ‘बन्धकी’, ‘मुगलान’, ‘भाग्य’, ‘मितिनी’ जस्ता सिनेमाले दिलिपको करिअरमा इट्टा थप्ने काम गरेका छन् ।

पछिल्लो समय डान्सिङ रियालिटी शो ‘द डान्सिङ विथ स्टार्स’मा निर्णायकको भूमिका निर्वाह गरिरहेका दिलिपको ‘लक्का जवान’ नामक सिनेमा प्रदर्शनको लागि तयार छ ।