‘भाग्यरेखा’ छायांकार जावेद शाहको निधन

‘भाग्यरेखा’ छायांकार जावेद शाहको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छायांकार जावेद शाहको निधन भएको छ । नेपाली सिनेमाको छायांकन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका जावेदको हृदयघातका कारण बुधबार निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए ।

७० वर्षिया जावेदको बिहिबार बिहान मुस्लिम संस्कारका साथ अन्तेष्टि गरिएको छ । काठमाडौँ बासिन्दा जावेदका पत्नीसहित दुई सन्तान छन् । सिनेमाबाट सन्यास लिएर पछिल्लो समय घरमै रहेका जावेदले २०४६ सालमा सिनेमा ‘भाग्यरेखा’बाट छायांकारको यात्रा तय गरेका थिए ।

सन् १९८२ मा रुसबाट सिनेमा छायांकन पढेर आएका जावेदले डेब्यु सिनेमा अगाडी ‘बदलिँदो आकाश’मा सहायक छायांकारको रुपमा काम गरेका थिए ।

जावेदले छायांकन गरेको अन्तिम सिनेमा ‘मनको टुक्रा’ २०६० सालमा रिलिज भएको थियो । त्यसयता उनले सिनेमाको छायांकन गरेका थिएनन् । जावेदले ‘विजय पराजय’, ‘युगदेखि युगसम्म’, ‘कसम’, ‘चोखो माया’, ‘प्रतिज्ञा’, ‘ज्वाला’, ‘प्रतिक्षा’, ‘सिमाना’, ‘अवतार’, ‘जमिन’, ‘रानी खोला’, ‘नातेदार’  जस्ता सिनेमामा आफ्नो छायांकन कौशल देखाइसकेका छन् ।