कोरोनाका कारण नेपालका पहिलो छायांकारको निधन

कोरोनाका कारण नेपालका पहिलो छायांकारको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना संक्रमणका कारण नेपालका पहिलो सिनेम्याटोग्राफर बैकुण्ठमान मास्केको निधन भएको छ । कोरोनाका कारण  उनको शुक्रबार ८३ वर्षको उमेरमा निधन भएको चलचित्र पत्रकार संघ, नेपालका महासचिव समीर बलामीले पुष्टि गरे ।

स्वर्गीय मास्के विगत ७ वर्षदेखि मृगौला सम्बन्धि रोगसँग लडिरहेका थिए । गत आइतबार उनलाई कोरोना संक्रमण पुष्टि भएपछि निदान अस्पतालमा भर्ना गरिएको थियो । मास्केले लामो समयदेखि बनस्थलीस्थित मृगौला उपचार केन्द्रमा मृगौलाको उपचार गराइरहेका थिए ।

२०२१ सालमा भारतको पुणास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन सकाएका मास्केले २०२७ सालमा रिलिज सिनेमा ‘परिवर्तन’बाट छायांकन यात्रा थालनी गरेका थिए । उनि फिचर सिनेमा खिच्ने पहिलो छायांकार थिए ।

मास्केले ‘मनको बाँध’, ‘पच्चीस बसन्त’लगायत २ दर्जन बढी सिनेमा खिचेका छन् । उनका एक श्रीमती र एक छोरी छन् ।

मास्केको पार्थिव शरीरको शुक्रबारै पशुपतिको विद्युतीय शवदाह​ गृहमा अन्तेष्टि गरिएको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउने मास्के पहिलो नेपाली सिनेकर्मी पनि हुन् ।