सुब्रत र सुलक्षणको निर्देशनमा ‘बोक्सीको घर’ निर्माण घोषणा

सुब्रत र सुलक्षणको निर्देशनमा ‘बोक्सीको घर’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको सफल नाटक ‘बोक्सीको घर’ सिनेमाको पर्दामा देख्न पाइने भएको छ । मण्डला थियटरमा मञ्चन भएको उक्त नाटकमा कलाकार सरिता गिरीको एकल अभिनय रहेको थियो ।

बरिष्ठ रंगकर्मी तथा निर्देशक बद्रि अधिकारीको लगानीमा निर्माण सिनेमालाई सुब्रतराज आचार्य र सुलक्षण भारतीले मिलेर निर्देशन गर्दैछन् । नाटक ‘बोक्सीको घर’लाई सिनेमाको आकारमा ढाल्ने काम स्वयंम सुलक्षणले गरिरहेका छन् ।

सिनेमामा केकी अधिकारी र गौरव पहारीको मुख्य भुमिका रहनेछ । केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाका अन्य पात्रहरुका लागि कलाकारहरुको छनौट हुँदैछ । त्यसका लागि आगामी साता खुला अडिशन कल गरिनेछ ।

मुख्य अभिनेत्री केकीले भनिन्, ‘विगत डेढ महिनादेखि हामी वर्कसप र प्रि-प्रोडक्सन चरणमा छौं । चार महिनाको वर्कसपपछि सिनेमाको छायांकन थालिनेछ । यथार्थपरक सिनेमाको रुपमा निर्माण हुने ‘बोक्सीको घर’मा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित हुनेछन् ।’

सिनेमाको कार्यकारी निर्माता विशाल भण्डारी हुन् । यही टिमले यसअघि सिनेमा ‘कोहलपुर एक्सप्रेस’ र टेलिभिजन कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ निर्माण गरिसकेको छ । भने, तेस्रो प्रोजेक्टको रूपमा सिनेमा ‘बोक्सीको घर’ निर्माण गर्दैछन् ।