सिनेमा हल खोल्न ६ संस्थाको दबाब

सिनेमा हल खोल्न ६ संस्थाको दबाब

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- कोरोना भाइरसको कारण ठप्प भएको सिने क्षेत्रलाई चलायमान बनाउन सिनेमासँग सम्बन्धित ६ वटा संस्थाले संयुक्त रुपमा दबाब दिने भएका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द्व संघ तथा जनजाति चलचित्र महासंघले एकजुट भएर सरकारलाई दबाब दिने निर्णय गरेका हुन् ।

गत शुक्रबार सञ्चार मन्त्री पार्वत गुरुङलाई भेटेर सिने क्षेत्र चलायमान बनाउनु पर्ने प्रस्ताव राख्दा मन्त्रीले यस विषयमा चासो नदेखाएपछि विभिन्न संस्थाले दबाब दिने निर्णय गरेका हुन् । एक मिडियामा उल्लेख गरिए अनुसार मन्त्री गुरुङले काठमाडौं नै कोरोनाको ‘हटस्पट‘ भएकाले तत्काल हल खोल्न नसकिने बताएका थिए ।

सिनेमा सबद्ध ६ संघसंस्थाद्धारा जारी विज्ञप्तिमा ‘कोभिड–१९ कोरोनाको प्रकोप सुरु भएदेखि विगत नौ महिना देखिको लकडाउनले गर्दा नेपाली सिनेमा क्षेत्र बन्द गर्दा सिनेमा क्षेत्रमा आश्रित हजारौं पेशाकर्मी बेरोजगार भएका छन् । रोजगारी नभएको कारणले सिनेमाका हजारौं पेशाकर्मीको जीवनयापन कठिन भैरहेको छ भने सिनेमाका लगानीकर्ताहरुको लगानी स्थिर भएर बसेको छ ।

त्यस्तै, विज्ञप्तीमा फिल्मका प्रदर्शकहरुको अवस्था झन् गम्भिर भएको उल्लेख गर्दै सिनेमा क्षेत्रको उत्थानका लागि दीर्घकालिन समाधान भनेको क्षेत्र चलायमान हुनु नै हो । अन्य क्षेत्रहरु चलायमान भए जस्तै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डको अधिनमा रहि सिनेमा क्षेत्र चलायमान हुनुपर्छ भन्ने हाम्रो माग हो, विज्ञप्तीमा भनिएको छ, ‘मापदण्डको पालना गरी सिनेमा छायांकन हुनुपर्छ, सिनेमा प्रदर्शन हुनुपर्छ । यसका लागि सिनेमा क्षेत्रका संघ–संस्थाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यसको लागि हामी तयार रहेको प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।’  साथै चलचित्र विकास बोर्डबाट पनि सिनेमा हल खोलाउनका लागि प्रयास भैरहेको विगज्ञप्तीमा उल्लेख गरिएको छ ।

केहि दिन अगाडी एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सिनेमा हल छिट्टै खोल्ने बताएका थिए ।