‘कृष्ण लीला’को छायांकन सुरु, पुष्पसँग रोमान्टिक बनिन् श्रद्धा

‘कृष्ण लीला’को छायांकन सुरु, पुष्पसँग रोमान्टिक बनिन् श्रद्धा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय रहने सिनेमा ‘कृष्ण लीला’को शुक्रवारबाट छायांकन सुरु भएको छ । हाल सिनेमा पूर्वको इलामका रमणीय स्थानमा छायांकन भइरहेको छ । सिनेमाको सम्पुर्ण छायाँकन इलाम आसपासमा हुनेछ ।

दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमाको सटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीतबाट सुरु भएको कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए । गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन् । निर्माण टिमले सार्वजनिक गरेको गीतका तस्विरमा पुष्प र श्रद्धालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

अन्जु पन्त र सुगम पोखरेलको स्वरमा समावेश गीतमा अर्जुन पोखरेलको संगीत छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् । बाबु श्रेष्ठले खिचेको गीतको भिडियो निकै सुन्दर बनेको लामिछानेले बताएका छन् । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

पुष्प खड्काले ‘कृष्ण लीला’मा दर्शकले आफूलाई अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने बताएका छन् । सिनेमालाई लिएर उनी निकै उत्साहित छन् । सिनेमामा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय छ । सप्तकोशी नदीको किनारमा सेट खडा गरेर सिनेमाको छायांकन सुरु गरिएको थियो ।