मेरो अतितलाई स्विकार्दै सुख-दु:ख बाँड्ने एउटा साथी पाएकी छु : श्वेता

मेरो अतितलाई स्विकार्दै सुख-दु:ख बाँड्ने एउटा साथी पाएकी छु : श्वेता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- नायिका श्वेता खड्का मंसिर २२ गते बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।

श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ मा विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको मृत्यु भयो । दोस्रो पटक विवाह बन्धनमा बाँधिन लागेकी श्वेताले पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भन्ने चिन्ता व्यक्त गरेकी छन्।

उनले जीवनको नविन यात्रामा रहेको खुलासा गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जीवनका विभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दुःख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर, व्यथा, दुःख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केबल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठु–ठुला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । ‘के म यसो गर्न सकुँला र ?’ आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ‘कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।’अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनि जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । ‘अब उठ्नै सक्दिन कि’ भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ । तर मैले मेरा बहहरु व्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुस गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनि अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे , अनि के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ? म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीसंगतीहरु, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौसला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?’

मलाई थाहा छ, ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचारजना व्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी विधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनि संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वतः हार खानेछन् ।

अतः कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य व्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित व्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु ।’