‘डान्स मास्टर लिल चाम्स’को घोषणा, जजमा सुशान्त र तेरिया

‘डान्स मास्टर लिल चाम्स’को घोषणा, जजमा सुशान्त र तेरिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमेडी च्याम्पियनको टिमले अर्को अर्ग्यानिक रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’को आयोजना गर्ने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।

थ्रि प्रोडक्सन र नेपा प्रोडक्सनसँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । उनी सफल रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशकसमेत हुन् । यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंहलगायत निर्माताको रूपमा रहेका छन् ।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् । भने, जजको रूपमा ‘डान्स इन्डिया डान्स लिल चाम्स’की विजेता तेरियमा मगर, ‘डान्स प्लस सिजन २’का प्रतियोगी सुशान्त खत्री र ‘बुगी विगी’, ‘नेपाल आइडल’, ‘द भ्वाइस अफ नेपाल’ जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।

रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइराला शोमा होस्टको रूपमा रहने पक्का भएका छन् । ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएको दुई महिनापछि ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुनेछ । यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रूपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए ।

रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमश १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशात साझेदारी गर्नुपर्नेछ ।