बिहिबार भर्चुअलमार्फत किम्फ हुँदै, विजेतालाई दुई लाख

बिहिबार भर्चुअलमार्फत किम्फ हुँदै, विजेतालाई दुई लाख

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहिबारबाट ‘काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल’ सुरु हुँदैछ । चारदिनसम्म चल्ने किम्फको अठारौं संस्करण काठमाडौंमा हुनेछ । कोभिडको कारण यसवर्ष सिनेमा मेला भर्चुअल हुने आयोजक संस्थाले जनकारी दिएको छ ।

महोत्सवमा प्रदर्शन हुने सिनेमा www.kimff.org मार्फत हेर्न सकिन्छ । यसवर्ष विभिन्न १५ मुलुकका सिनेमाकर्मीहरुले यसमा सहभागिता जनाएका छन् । यसमा १८ वटा सिनेमा प्रदर्शन गरिनेछ । यसैगरी नेपाल पानोरमा अर्न्तगत कथानक र वृत्तचित्र गरी १२ वटा सिनेमा देखाइने छन् । अन्तर्राष्ट्रिय सिनेमामा पर्वतीय जनजीवन, पर्वतारोहण एवं साहसिक क्रीडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली नेपाली सिनेमाकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ ।

किम्फको उद्घाटन भुटानी सिनेमा निर्देशक खिन्चे नोर्बु रिम्पोचेको नयाँ सिनेमा ‘लुकिङ अफर अ लेडी विथ फ्याङ्गस अ मुस्ट्याच’को प्रदर्शनसँगै हुनेछ । यस सिनेमाको छायाङ्कन नेपालमा भएको थियो । सोही मेसोमा रिम्पोचेले भर्चुअल प्रवचन दिने कार्यक्रम छ ।

हिमाली जनजीवनसँग सम्बन्धित सिनेमा एवं वृत्तचित्रहरु हेर्न पाइनेछ । विभिन्न मुलुकका सिनेमामेकरहरुले बनाएका सिनेमा घरमै बसीबसी हेर्ने सुविधा छ । यसै मेसोमा सिनेमा प्रदर्शनसँगै सिनेमाकर्मीबीच भर्चुअल छलफल समेत हुने आयोजकको भनाइ छ ।

दिवंगत लेखक पिटर जे कार्थको ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन हुनेछ । कोभिड १९ र लकडाउनबारे बनानइएका विशेष वृत्तचित्र प्रदर्शन हुनेछ । त्यसैगरी प्रदर्शनपछि उक्त वृत्तचित्रका पात्र र कोभिड विशेषज्ञबीच छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय र नेपाली पानोरमा अर्न्तगत छुट्टाछुट्टै सिनेमाबीच प्रतिस्पर्धा गराइनेछ । अन्तर्राष्ट्रिय सिनेमामा पहिलो, दोस्रो र तेस्रो हुने सिनेमाले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

उत्कृष्ट नेपाली कथानक सिनेमा र उत्कृष्ट वृत्तचित्रलाई क्रमशः एक लाख, ७५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । किम्फ इन्टरनेसनल अलायन्स फर माउन्टेन फिल्म नाम विश्व संस्थाको सक्रिय सदस्य रहेको छ । यस संस्थामा २० वटा देशका २८ वटा माउन्टेन फिल्म फेस्टिभलहरु सदस्य रहेका छन् ।