anmol jasita

किम्फमा इरानी सिनेमा ‘द सिलहुट्स’ सर्वाेत्कृष्ट हुँदै २ लाख जित्यो

किम्फमा इरानी सिनेमा ‘द सिलहुट्स’ सर्वाेत्कृष्ट हुँदै २ लाख जित्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं- ‘काठमाडौं अन्तराष्ट्रिय फिल्म फेस्टिभल’ (किम्फ) भर्चुअलमा सम्पन्न भएको छ । किम्फमा इरानी सिनेमा ‘द सिलहुट्स’ अन्तराष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट भएको छ । साना सलेरी निर्देशित ८० मिनेट लामो सिनेमाले जितसँगै दुईलाख रुपैयाँ नगद प्राप्त गरेको छ ।

एक शरणार्थी युवाले द्धन्द्धको पृष्ठभूमिमा आफ्नो पहिचान खोज्न गरेको संघर्षको कथालाई ‘द सिलहुट्स’मा प्रस्तुत गरिएको छ । अन्तराष्ट्रिय विधातर्फ टीना म्याडिसन निर्देशित फिनल्यान्डको सिनेमा ‘द बिलभ्ड डटर’ले दोस्रो स्थान ओगटेको छ । दोस्रो भएसँगै फिल्मले डेढलाख रुपैयाँ जित्यो ।

८२ मिनेट लामो अमेरिकी सिनेमा ‘बाटो’ले तेस्रो हुँदै एकलाख रुपैयाँ पुरस्कार जित्यो । लुकास मिलर्ड र केट स्ट्राइकर निर्देशित सिनेमाले कच्ची बाटो हुँदै एउटा परिवारले गरेको सिजनल बसाइसराइको कथा यसले भन्छ । यसलाई नेपाल प्रिमियर गरिएको हो ।

नेपाल पानोरमातर्फ सोनाम चोकी लामा निर्देशित डोल्पाली वृत्तचित्र ‘द स्नो लियोपार्ड कलिङ’ले सर्वोत्कृष्ट डकुमेन्ट्री प्राइज जित्यो । यो डकुमेन्ट्रीले जितसँगै ७५ हजार रुपैयाँ प्राप्त ग¥यो । हिउँचितुवालाई पछ्याउँदै तीन डोल्पाली महिलाले गरेको यात्रा यसको कथा हो ।

अंकित पौडेल निर्देशित छोटो सिनेमा ‘सङ्स अफ क्लाउड्स’ले नेपाल पानोरमातर्फ उत्कृष्ट फिक्सन अवार्ड उचाल्दै एकलाख रुपैयाँ जित्यो । यस विधातर्फ जुरी अवार्ड भने सिकुमा राईको ‘कम ओभर फर अ ड्रिंक कान्छी’ले जित्यो ।
नेपाली लेखक नयनराज पाण्डे, सनडान्सकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिघम र स्वीटजरल्यान्डकी पत्रकार लिसा रुस्ली निर्णायकमा थिए । चार दिनसम्म नेपाल चलचित्र विकास बोर्डमा चलेको फेस्टिभलमा यसपटक सिनेमालाई सेमी–भर्चुअलरुपमा प्रदर्शन गरियो । विजयी सिनेमाका निर्देशकले भिडियो सन्देशमार्फत खुशि साटे । कोभिड–१९ को कारण यसपटक किम्फ भर्चुअल भएको हो ।