शुक्रबारबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’ रि–रिलिज हुने

शुक्रबारबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’ रि–रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कोरोना महामारीका कारण विगत नौ महिना देखि बन्द रहेका सिनेमा हलहरु आगामी शुक्रबारबाट सञ्चालनमा आउँदै छन् । आगामी शुक्रबारबाट नेपाल चलचित्र संघको एकल निर्णयमा हल पून: सञ्चालनमा आउन लागेका हुन् ।

क्युएफएक्स सिनेमाजका सञ्चालक नकिम उद्दिनका अनुसार शुक्रबारबाट सिभिल, लाविम र छायाँको एक-एक पर्दा मात्र सञ्चालनमा आउने बताए । यदि सरकारले अनुमति दिएको खण्डमा अर्को हप्ताबाट हलमा नयाँ सिनेमा समेत रिलिज गर्ने तयारी छ ।

वितरक करण श्रेष्ठका अनुसार, आगामी शुक्रबारबाट हलमा सफलताका साथ प्रदर्शन भइरहेको दिपेन्द्र के खनाल निर्देशित सिनेमा ‘आमा’ रि–रिलिज हुँदैछ। कोरोना महामारीका कारण सिनेमाको रिलिज रोकिएको थियो । तत्काल हलमा नयाँ सिनेमा रिलिज गर्ने वातावरण छैन । तर हलमा दर्शक आउने वातावरण सिर्जना गर्न सफल सिनेमा रिलिज गर्न लागिएको उनको भनाई छ ।

यस्तै, अर्का वितरक तथा निर्माता गोविन्द शाहीले धुर्मुस सुन्तलीले निर्माण गरेको सिनेमा ‘सेन्टी भाइरस’ रि–रिलिज गर्न लागेको बताए । यो सिनेमाले बक्सअफिसमा औसत व्यापार गरेको थियो । कोरोना महामारीका कारण सेन्टी भाइरसको पनि बीचमै प्रदर्शन रोकिएको थियो । वितरक शाही सेन्टी भाइरस दर्शकलाई हलसम्म तान्ने सक्ने सिनेमा सावित हुने विश्वास व्यक्त गर्दछन् ।

हल खोल्ने सम्पूर्ण तयारी भईसक्दा पनि सरकारले हल खोल्ने विषयमा केहि निर्णय गरेको छैन । चलचित्र संघका महासचिव अशोक शर्माले सरकारले सम्पूर्ण क्षेत्र खोल्न अनुमति दिइसक्दा पनि सिनेमा क्षेत्रलाई बेवास्ता गरेकै कारण सरकारको अनुमति बिनै हल खोल्नु परेको बताउछन् ।