anmol jasita

सिनेमा क्षेत्र चलायमान बनाउन आजबाट हल खुल्यो

सिनेमा क्षेत्र चलायमान बनाउन आजबाट हल खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– सरकारको हल खोल्ने अनुमति बिना नै चलचित्र संघको स्वघोषित निर्णयमा हल सञ्चालनमा आएको छ । यसले केहि हद सम्म सरकारलाई दबाब पुग्ने छ । आज शुक्रबारबाट सेन्टी भाइरस र आमा रि–रिलिज भएका छन् ।

सिभिल मल स्थित क्युएफएक्समा भएको कार्यक्रममा चलचित्र संघको महासचिव अशोक शर्माले सिनेमा क्षेत्रलाई चलायमान बनाउन पनि आफुहरुले हल खोल्न बाध्य भएको बताए । ‘आज बिहान र हिजो गरी दुई चरण हल खोल्ने विषयलाई लिएर जिल्ला प्रशासन कार्यलय पुगेका थियौं ।

हाम्रो प्रस्तावमा सीडीओ कार्यलय सकारात्मक रहेको र हल खोल्ने विषयमा हामीले पेश गरेका मापदण्ड सहितको पत्र आज साँझ बस्ने मन्त्री परिषदको बैठकमा पेश गर्ने प्रतिबद्धता सीडीओ कार्यलयले गरेको छ’ उनले भने ।

निर्माता तथा अभिनेता भुवन केसीले कोरोना भाइरसको प्रकोप लामो समयसम्म रहने भएकाले पनि हल खोल्न आवश्यक रहेको बताए । ‘यो महामारी कहिले अन्त्य हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएकाले सिनेमा क्षेत्रमा आवद्ध प्राविधिक निकै मारमा परेको र त्यो भन्दा बढी करोडौं लगानी गरेका हल सञ्चालक अप्ठारोमा परेका छन् ।

अब पनि सिनेमा हल खोलिएन र सिनेमा क्षेत्र चलायमान बनाइएन भने यो क्षेत्र नै धरासायी हुने भएकाले चलचित्र संघको निर्णय एकदमै उचित छ’ उनले भने ।

त्यस्तै, निर्माता तथा अभिनेता दीपकराज गिरीले हल खोल्ने र सिनेमा क्षेत्रलाई चलायमान बनाउने विषयमा आफ्नो फरक मत रहेता पनि बहुमतको कदर गर्दै हल खोल्ने विषयमा सकारात्मक रहेको बताए । ‘अहिलेको परिथितिमा सिनेमा भन्दा ठूलो दर्शकको स्वास्थ्य रहेकाले आफ्नो धारणा भिन्न रहेको थियो । तर नौ महिना पछि हल पुगेर सिनेमा हेर्न पाउँदा निकै खुशी लागेको छ’ उनले भने ।

आजबाट पुन प्रदर्शनमा आएको सिनेमा ‘सेन्टी भाइरस’का निर्माता तथा मुख्य अभिनेता सिताराम कट्टेलले कोरोना महामारीका कारण बीचमै प्रदर्शन स्थगित भएका सिनेमा आमा र सेन्टी भाइरसबाट हल खुलेकोमा खुशी व्यक्त गरे । ‘आफु र आफ्नो टिमले कोरोना भाइरसलाई च्यालेन्ज गर्नै सेन्टी भाइरस बनाएको जस्तो अनुभव भइरहेको छ’ उनले भने । साथै उनले आफ्नो स्वास्थ्यको ख्याल राख्दै सिनेमा हेर्न र सिनेमा क्षेत्र चलायमान बनाउन अनुरोध गरे ।

आमा निर्देशक दिपेन्द्र के खनालले चलचित्रकर्मीको लागि सेतो पर्दाको विकल्प नरहेको बताए । साथै उनले सरकारले छिट्टै हल खोल्न अनुमति दिने विश्वास व्यक्त गरे । त्यस्तै, क्युएफएक्स सञ्चालक मध्य एक भास्कर ढुंगानाले दर्शकको स्वास्थ्यको ग्यारेन्टी हल सञ्चालकको जिम्मेवारी रहेको बताए । ‘सिनेमा हल दर्शकको लागि सबै भन्दा सुरक्षित स्थान हो । त्यसैले दर्शकहरुलाई यो कुराको विश्वास दिलाउन र सिनेमा हेर्न हल सम्म आउने वातावरण बनाउनु सबै भन्दा ठूलो चुनौति हो । साथै सिनेमा क्षेत्र सबै भन्दा अनुसाशित रहेको नौ महिनाको गतिविधिले देखाएको छ ।’

आज सिभिल मल स्थित क्युएफएक्समा भएको कार्यक्रममा कलाकार ऋचा शर्मा, निर्देशक रामबाबु गुरुङ, प्रदीप भट्टराई, वितरकहरु प्रचण्ड मान श्रेष्ठ र गोविन्द शाही, करण श्रेष्ठ, लेखक प्रदिप भारद्धाज, पुष्कर लामा लगायतको पनि उपस्थिति थियो । उक्त कार्यक्रमा पुगेका सबैले सुरक्षाका मापदण्ड अपनाउदै सिनेमा ‘सेन्टी भाइरस’ हेरेका थिए ।