कोरोनाका कारण सिनेमा क्षेत्र सबैभन्दा बढि प्रभावित !

कोरोनाका कारण सिनेमा क्षेत्र सबैभन्दा बढि प्रभावित !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण नेपाली सिनेमा क्षेत्र अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढि प्रभावित बनेको छ । सम्पुर्ण क्षेत्र खुलिसक्दा पनि सिनेमा क्षेत्र खोल्न सरकारले अनुमति दिएको छैन । चलचित्र संघको स्वघोषित निर्णयमा पौष १० गते देखि हल सञ्चालनमा आएका छन् । तर, दर्शक आउने वातावरण अझै सिर्जना भएको छैन । सिनेमा हलका अधिकांश सिटहरु खाली नै छन् ।

विगत १० महिनादेखि ठप्प रहेको सिनेमा क्षेत्रलाई कति नोक्सानी भयो भन्ने यकिन तथ्यांक कसैसँग छैन । तर सिनेमा क्षेत्रसँग सम्बन्धित हरेक संघ संस्थाले आफु सबै भन्दा बढि मारमा परेको दाबी गर्दै आएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी कोरोना महामारीका कारण निर्माताको १ अर्ब ३० करोड लगानी जोखिममा रहेको बताउँछन् । चलचित्र क्षेत्रले बिस्तारै गति लिदै गर्दा हलमा सिनेमा रिलिजको वातावरण सिर्जना गर्न सिनेमा क्षेत्रसँग सम्बन्धित संघ संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

‘१० महिना सिनेमा क्षेत्र बन्द रहँदा यस क्षेत्रलाई संचालनको लागि विभिन्न चरणमा सरकारी निकायसँग छलफल गर्दै सिनेमा क्षेत्रलाई अति प्रभावित क्षेत्रमा पार्न सफल भएका छौं । विभिन्न चरणमा भएका छलफलमा सरकारी निकायसँग मिलेर थुप्रै कामहरु भएका छन् । ती कामहरु सरकारको नितिका रुपमा आउँदा केहि परिमाजित भएर आउलान् । तर, सिनेमा क्षेत्रलाई ठूलो राहत हुने गरी आउने विश्वास छ’, उनले भने ।

एउटा निर्मातालाई आफ्नो सिनेमामा कति खर्च भएको छ भन्ने कुरा उसलाई मात्र थाहा हुने भएकाले आफु सुरक्षित छु भन्ने लागेको खण्डमा मात्रै नयाँ सिनेमा रिलिज हुनेछन् । निर्माता संघले जहिले पनि सदस्यको लगानी जोखिममा राखेर सिनेमा रिलिज गर्न दबाब नदिने बताउँछन् । निर्माता सिनेमा क्षेत्रको मुल जरो भएका कारण पनि सबैभन्दा बढि मारमा निर्माता नै रहेका छन् ।

‘आगामी दिनमा छायांकनमा जाने सिनेमालाई निर्माता संघले ल्याएको प्रोजेक्ट विमा सबैभन्दा फाइदाजनक सावित हुनेछ । असार मसान्तसम्म फ्लोरमा जाने सिनेमाको प्रोजेक्ट विमा नेपाल सरकारले नै गरिदिने हुँदा निर्मातालाई ठूलो राहत पुग्ने छ । भने चलचित्र विकास बोर्डले पनि सिनेमा रिलिज ताका प्रचार-प्रसार र इन्कोडिङ चार्ज लगायतमा सहयोग गर्ने हुँदा त्यसको प्रत्यक्ष फाइदा निर्मातालाई पुग्ने गरी हामीले पहल गरेका छौं । जसमा विकास बोर्ड पनि सहमत भएको छ’ उनले भने ।

साथै निर्माता संघले चलचित्र संघसँग मिलेर दर्शकलाई कसरी हलसम्म सुरक्षित तवरले पुर्याउन सकिन्छ भन्ने बारेमा छलफल गरेर अगाडी बढ्नेछौं । सरकारको सम्पुर्ण मापदण्ड अपनाएर दर्शकलाई हलसम्म आउने वातावरण सिर्जना सिनेमाकर्मीको लागि ठूलो चुनौति हो । जसका लागि सम्पुर्ण दर्शकसम्म सिनेमा हल सबैभन्दा सुरक्षित छ भन्ने जानकारी पुर्याउने दायित्व पनि हाम्रै हो । हलसम्म पुगेर सिनेमा हेर्ने वा नहेर्ने त्यो दर्शकको हातमा रहेकाले निर्माता संघ आफ्नो काममा दृढताका साथ लाग्ने छ । यस्ता विषयमा निर्माता संघ अग्र भागमा रहेर काम गर्न तयार रहेको उनको दाबी छ ।

यता, चलचित्र संघका महासचिव अशोक शर्माले १० महिना सिनेमा हल बन्द हुदाँ २ अर्ब बढि घाटा सहनु परेको दाबी गर्छन् । हाल नेपालमा १ सय ९३ वटा स्क्रिन संचालनमा छन् । ती स्क्रिनमा काम गर्ने कर्मचारी, विधुत महसुल गरी मासिक करौडौं खर्च हुने गर्दछ । भने अरबौं ऋण बैंकमा तिर्न बाँकी नै छ । जसले गर्दा हल संचालक सबैभन्दा बढि मारमा परेको महासचिव शर्माको भनाई छ ।

त्यस्तै, सिनेमा क्षेत्रमा आश्रित अधिकांश कलाकार पनि बेरोजगार भएका छन् । केहि कलाकारलाई म्युजिक भिडियोले राहत दिए तापनि अधिकांश कलाकार काम नपाएर निराश छन् । ‘जति सिनेमासँग सम्बन्धित अन्य क्षेत्रहरु प्रभावित छन् । त्यति कलकारहरु प्रभावित छैनन् । कोरोना महामारीको बीचमा पनि अधिकांश कलाकारहरुले कुनै न कुनै काम गरिरहेका छन् । कसैले म्युजिक भिडियो, कसैले विज्ञापन त कसैले सिनेमा लगायतमा काम गरिरहेका छन् । तर, प्राभावित नै नभएको पनि होइन । अल्ली कम प्रभावित मात्र हो । हामी पूर्ण रुपमा सरकारले सिनेमा क्षेत्रलाई संचालन गर्न दिनुपर्छ भन्ने पक्षमा छौं । विभिन्न संघ संस्थासँग मिलेर पटक-पटक सिनेमा क्षेत्रलाई संचालनको लागि सरकारी निकाय सम्म पुगेका थियौं’, कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले भने ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार विकास बोर्ड, कलाकार र अन्य क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरुबाट आएको सहयोग विभिन्न चरणमा राहत बाड्दा पनि ६० प्रतिशत प्राविधिक प्रत्यक्ष मारमा परेका छन् ।

यस मध्ये केहि प्रतिशत प्राविधिक सिनेमा क्षेत्रबाट सधैंको लागि पलायन भएका छन् । बिस्तारै सिनेमा क्षेत्र सुचारु हुँदै गर्दा ४० प्रतिशत प्राविधिकले काम पाए पनि अझै ६० प्रतिशत प्राविधिक बेरोजगार छन् । दैनिक काम गरेर घर व्यवहार चलाउने प्राविधिकलाई सरकारले सिनेमा छायांकनको अनुमति दिएसंगै उत्साह बढेको छ ।

‘अहिले धेरै सिनेमा छायांकनको तयारीमा छन् । भने, हाल केहि सिनेमा धमाधम छायांकन भइरहेको छ । माघ र फागुनमा कोरोना महामारीका कारण छायांकन रोकिएका र नयाँ बन्ने सिनेमाहरु छायांकनमा जाने भएकाले अधिकांश बेरोजगार प्राविधिकले रोजगार पाउने र प्राविधिकको दैनिकी पहिलेको जस्तै सामान्य परिस्थितिमा फर्किने विश्वास छ’, संघका अध्यक्ष लामाले भने ।

कोरोना भाइरसका कारण लकडाउन हुनुभन्दा अगाडी आठ सिनेमा छायांकनमा थिए । २८ सिनेमा रिलिजको तयारीमा थियो । हल खुलेसँगै नयाँ सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ र ‘लप्पन छप्पन २’ ले गरिसकेका छन् । नयाँ सिनेमा लागेसँगै दर्शकको उपस्थिति बढ्ने अनुमान सिनेकर्मीहरुको छ ।